एमाले आज

अध्यक्षद्वारा मनोनीत केन्द्रीय सदस्यहरुलाई पार्टी र जनताप्रतिको उत्तरदायित्व केन्द्रमा राखेर काम गर्न निर्देशन

सेयर गर्नुहोस्

१६ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत नेताहरुलाई पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न र जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउँदै उहाँले पार्टी र जनताप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– पार्टीले तोकेको जिम्मेवारीमा जानु हुने छ र जिम्मेवारी पूरा गर्न सम्पूर्ण सामथ्र्य प्रयोग गर्नु हुने छ भन्ने विश्वास लिएको छु ।
राजनीतिक यात्रामा कहिलेकाहीँ पार्टीले धक्का खान सक्ने भए पनि त्यसबाट पुनः उठ्न सकिने उल्लेख गर्दै उहाँले नेताहरूलाई अनुशासित र आदर्श व्यवहार प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार समाजका लागि नमुनायोग्य हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीलाई थप सुदृढ र संगठित बनाए वर्तमान चुनौती तथा धक्काबाट माथि उठ्न सकिने बताउनुभयो । 
अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उद्देश्य बोकेर अघि बढेको पार्टीलाई विभिन्न समयमा धक्का लाग्न सक्ने भए पनि त्यसबाट निराश हुन नहुने बताउनुभयो ।
देश विकासको अभियानमा अघि बढिरहेको एमालेलाई विकास हुन नदिने शक्तिहरूले अवरोध सिर्जना गर्ने प्रयास गरिरहेको बताउँदै उहाँले पार्टीपङ्क्ति फराकिलो सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले देशमा प्रतिगमनका प्रवृत्ति देखिएको र पार्टीले पनि विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै सानातिना विवादमा अल्झिनुको सट्टा संगठनलाई बलियो बनाउँदै अघि बढेमा एमाले फेरि विगतभन्दा अझ सशक्त बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
अहिले सूचना प्रविधिको युग भएकाले नेता तथा कार्यकर्ताले आधुनिक प्रविधि, डिजिटल माध्यम र समसामयिक परिवेशबारे पर्याप्त जानकारी राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले एमाले जिम्मेवार राज्य र जिम्मेवार अर्थतन्त्रको पक्षमा रहेको र समाजका कुनै पनि वर्ग र समुदाय विकासको मूलधारबाट बाहिर नपरोस् भन्ने उद्देश्यसहित पार्टीले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट लगायत नेताहरुको उपस्थिति रहेको थियो । 

 

 

 

हामीसँग जोडिनुहोस्