detail-img

अध्यक्ष ओलीसँग अमेरिकी उपविदेशमन्त्रीद्वारा शिष्टाचार भेट 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी संयुक्त राज्य अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेट गर्नुभएको छ । 
नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित तथा सहयोगका विषयमा कुराकानी भएको थियो । 
भेटमा अध्यक्ष ओलीले नेपालको आर्थिक, भौतिक पूर्वाधार विकास र सामाजिक क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । 
अध्यक्ष ओलीले उपविदेशमन्त्री नुल्यान्डको जिज्ञासामा नेपालमा निर्वाचन सम्पन्न भई सात राजनीतिक दल र केही स्वतन्त्र सांसदको समर्थनमा संयुक्त सरकार गठन भएको र सरकार न्यूनतम साझा कार्यक्रमका साथ  अगाडि बढिरहेको जानकारी गराउनुभएको थियो । 
उहाँले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढ्दै रहेकाले वैदेशिक लगानीको आवश्यकता रहेको वताउनुभएको थियो ।


त्यसअघि, सो अवसरमा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले नेपालमा अझ बढी औद्योगिक विकास आवश्यक रहेको, पूर्वाधार क्षेत्रमा अमेरिकी लगानीको सम्भावना रहेको र त्यसका लागि आवश्यक वातावरण बन्नुपर्ने राय राख्नुभएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत डेन आर थम्पसन लगायत सहभागी हुनुहुन्थ्यो । अध्यक्ष ओलीका साथमा नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्य हुनुहुन्थ्यो । अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आइपुग्नुभएको हो ।