detail-img

दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाः अध्यक्ष ओली 

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार गृहनगर झापाको दमकमा दमक बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास गर्दै अध्यक्ष ओलीले उक्त धारणा राख्नुभएको हो । प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगार, स्वरोजगार सिर्जना हुने बताउनुभयो । 
उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दा नै नेपालमा ७० प्रतिशत जनशक्ति प्राविधिक शिक्षाबाट उत्पादन गर्ने अभियान अगाडि बढाएको बताउनुभयो । यसै अभियान अन्तर्गत अहिले सिटीइभिटीले देशैभरि आफ्ना कार्यक्रम अघि बढाएको र ३० प्रतिशत शिक्षामात्र अप्राविधिक रहने पूर्व प्रधानमन्त्री ओलीले वताउनुभयो ।

 
झापामा बहुप्राविधिक शिक्षा अध्ययनको अवसर सिर्जनापछि  यस क्षेत्रमा रोजगारी सिर्जनामा सहज बनाउने छ । सबैलाई स्थानीय ठाउँमा नै दक्ष योग्य बनाउने आफ्नो योजना रहेको अध्यक्ष ओलीले वताउनुभयो । यस्ता प्राविधिक शिक्षालय अन्य क्षेत्रमा समेत विस्तार गरेर लैजान आवश्यक छ उहाँले भन्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– जीवन, पेशा, व्यवसायसँग व्यावहारिक रूपमा नजोडिएको शिक्षाले बेरोजगारमात्र उत्पादन हुन्छ तसर्थ अवको शिक्षा अन्तर्राष्ट्रिय स्तरसँग जोडिएको हुनुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले हिजो विराटनगरमा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको थियो । उहाँ आजै  काठमाडौं फर्कनु भयो ।