detail-img

पार्टी सुदृढीकरण अभियान ‘मिसन ग्रासरुट’ आजदेखि देशभर एकसाथ शुरू हुँदै 

काठमाडौं । नेकपा (एमाले) कोे पार्टी  सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ आज (फागुन ५ गते) देखि देशभर एकसाथ शुरू हुँदै छ । 
अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ः१५ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सात प्रदेश र गैरभूगोलका विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट सम्बोधन गरी देशभर पार्टी सुदृढीकरण अभियान शुभारम्भ गर्नुहुने भएको छ । 
अध्यक्ष ओली समग्र अभियानको संयोजक हुनुहुन्छ । 
पार्टीका पोलिटव्यूरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ भने  उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजन गर्ने भएको छ । अभियानको शुभारम्भ अभिमुखीकरणबाट गरिने भएकाले अनुगमन र संयोजनको जिम्मेवारीमा रहनुभएका नेताहरू आ–आफ्नो जिम्मेवारी तोकिएका प्रदेशमा पुग्नुभएको छ । 
अभिमुखीकरणका लागि प्रदेश–१ मा उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्य, मधेश प्रदेशमा बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेल, बाग्मती प्रदेशमा उपाध्यक्ष कमरेड सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष कमरेड युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष कमरेड रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष कमरेड सुवासचन्द्र नेम्वाङ र  सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेल तोकिनुभएको छ ।  
त्यसैगरी, महासचिव शंकर पोखरेलको नेतृत्वमा अनुगमन र संयोजन हुने उपत्यकामा रहेका गैरभौगोलिक विशेष कमिटी (केन्द्रीय कार्यालय) को अभिमुखीकरणमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुहुने विशेष कमिटीको अनुगमन तथा संयोजनमा रहनुभएका कार्यालय सचिव डा.भीष्म अधिकारीले वताउनुभयो ।
केन्द्रीय कमिटीका सदस्यहरू हालको जिम्मेवारीभन्दा भिन्न जिल्लामा खटिनुभएको छ । त्यसैगरी प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरू र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने ठाउँमा जिम्मेवारी तोकिने भएको छ । 
पार्टीलाई वैचारिक र संगठनात्मकरूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न यो विशेष अभियानको आवश्यकता बोध गरिएको हो । 
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीविरूद्ध चौतर्फी घेराबन्दी, षडयन्त्र र आक्रमण हुँदा पनि त्यसलाई चिर्दै जनताको रोजाइको पहिलो पार्टी बन्न सफल भए पनि पार्टीको संगठनात्मक जीवनमा देखापरेका अस्तव्यस्तता र अराजकताका कारण कमिटीगत परिचालनमा समस्या देखापरेका र निर्वाचनका सिलसिलामा विभिन्न गलत प्रवृत्ति प्रकट भएका कारण पार्टीले कैयौं महत्वपूर्ण स्थानहरू गुमाउनुपरेको हुँदा यस्ता समस्याको समाधान गर्ने अभियानको एक प्रमुख उद्देश्य रहेको छ । 
अभियान नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन बैशाख ९ गते समापन गरिने छ ।