detail-img

खेल क्षेत्रको विकासका लागि पार्टीको सदैव साथः अध्यक्ष ओली 

विराटनगर । नेकपा (एमाले) को जनसंगठन नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा शुरू भएको छ । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार (२०७९ फागुन ७ गते) महाधिवेशन उद्घाटन गर्नुभयो । 
महाधिवेशनको उद्घाटनका अवसरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले खेल र खेलाडिको विकास तथा यस क्षेत्रको समस्या समाधानका लागि पार्टीको सदैव साथ रहने बताउनुभयो ।  
अध्यक्ष ओलीले खेलकुदको समुचित विकासका लागि खेलकुद महासंघ बनेको वताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकास गर्न अनुशासन र इमान्दारी आवश्यक रहेको वताउँदै अनुशासनमा रहन नसक्ने व्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गर्नुभयो । महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रित हुनुपर्ने भनाई उहाँले राख्नुभयो । 
नेपाली खेलाडीहरूमा आत्मविश्वासको कमीका कारण पछाडि परेको बताउँदै अध्यक्ष ओलीले हरेक खेलाडी र प्रशिक्षकलाई जित्ने आत्मविश्वासका साथ खेल्न हौसला दिनुभयो । 
खेलकुद क्षेत्र व्यापक रहेको वताउँदै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि, समाजका लागि, मित्रताका लागि, अनुशासनका लागि मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान विस्तारको लागि पनि हो भन्नुभयो । 
उहाँले खेल क्षेत्रको समुचित विकासका लागि राज्य मात्र नभई गैर सरकारी संस्थाहरू पनि लाग्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले महासंघले आयोजना गरेको केपी ओली रोडरेस प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।


महासंघका अध्यक्ष परशुराम बस्नेतको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा प्रदेश–१ का इन्चार्ज राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य तथा प्रदेश–१ का मुख्यमन्त्री हिक्मत कार्की, स्थायी कमिटी सदस्य शेरधन राई, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा, पोलिटव्यूरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बाँस्कोटा लगायत नेताहरूको उपस्थिति रहेको थियो ।  उद्घाटन सत्रमा विभिन्न खेल र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।   
फागुन ७ देखि ९ गतेसम्म चल्ने महाधिवेशन सञ्चालनका लागि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा अध्यक्षमण्डल गठन भई आइतबारबाटै बन्द सत्र शुरू भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । 
बन्दसत्र स्थगित
महाधिवेशन प्रतिनिधि अर्घाखाँचीका प्रकाश महतको आइतबारको बन्दसत्र सकेर आवास जाने क्रममा दुर्घटनामा परी निधन भएकाले महाधिवेशनको दोस्रो दिनको बन्द सत्र उहाँको निधनमा शोक मनाउन दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।