detail-img

देश बनाउन सरकारको नेतृत्वमा स्थायित्व आवश्यकः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व र विकासका लागि एकजना प्रधानमन्त्रीले कम्तीमा पाँचबर्ष सरकारको नेतृत्व गर्न पाउनुपर्ने वताउनुभएको छ । 
भारतको महाराष्ट्र प्रान्तको पुणेमा आयोजित भारत प्रवासमा रहेका नेपालीको संगठन प्रवासी नेपाली संघ, भारतको आठौं अखिल भारत प्रवासी नेपाली सम्मेलनको आइतबार (२०७९ फागुन ७ गते) उद्घाटनपछि सम्वोधन गर्दै महासचिव पोखरेलले उपरोक्त मान्यता स्थापित गर्न नेतृत्वदायी भूमिकाका लागि पार्टी अग्रसर रहेको वताउनुभयो । 
‘नेपालमा पछिल्लो ३२ बर्षमा २८ जना प्रधानमन्त्री बन्नु भनेको नेपालले भोगेको पीडा हो’ वताउँदैै महासचिव पोखरेलले भन्नुभयो– नेकपा (एमाले) एउटा प्रधानमन्त्रीले कम्तीमा पाँचबर्ष नेतृत्व गर्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने अभियानको नेतृत्व गर्न अग्रसर छ ।


महासचिव पोखरेलले भन्नुभयो– नेकपा (एमाले) देशलाई स्थायित्वतर्फ लैजानका लागि भूमिका निर्वाह गर्न चाहन्छ, त्यस अर्थमा म तपाईं (प्रवासी नेपाली) हरूलाई आग्रह गर्न चाहन्छु, अब हामी देश बनाउने अभियानमा जुटौं । 
नेकपा (एमाले) मुलुक बनाउने अभियानमा जुटिसकेको र त्यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने सङ्कल्पका साथ पार्टीपङ्ती अगाडि बढिरहेको भनाई उहाँले राख्नुभयो ।  
महासचिव पोखरेलले प्रवासी नेपालीलाई नेकपा (एमाले) को सङ्कल्पमा साथ र सहयोगका लागि आग्रह पनि गर्नुभयो । 
यतिबेला नेकपा (एमाले) का नेताकार्यकर्ता पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत गाउँ गाउँ र जनताका बीचमा पुगिरहेको वताउँदै नेकपा (एमाले) देश बनाउने सङ्कल्प बोकेको राष्ट्रिय पार्टी भएकाले अरूजस्तो चुनावदेखि चुनावसम्मको यात्रामा नरहेको उहाँले स्पष्ट गर्नुभयो । 
महासचिव पोखरेलले आफूहरूको अबको सोच र सङ्कल्प निर्वाचनमा एक्लै बहुमत ल्याउनसक्ने पार्टीका रूपमा नेकपा (एमाले) लाई सुदृढ बनाउने रहेको वताउँदै त्यसमा प्रवासमा रहेका दाजुभाइ दिदीबहिनीको साथ सहयोग जरूरी छ भन्नुभयो । 
गएको चुनावमा भारतबाहेकका प्रवासी नेपालीबाट ठूला पार्टीलाई होइन, नयाँलाई भोट भन्ने लविङ भएको र पार्टीले पीडा अनुभव गर्नुपरेको वताउँदै महासचिव पोखरेलले त्यो लविङ मुलुकलाई राजनीतिक रूपमा अस्थिर बनाउने खेल होे भन्ने हामीले मतदातालाई बुझाउन सकेनौं भन्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– सधैभरि नयाँको कुरा गरिरहँदा यो मुलुकमा बलियो शक्ति कसरी निर्माण हुन्छ ? म तपाईंहरूलाई बताउन चाहन्छु, आज भारतलाई बलियो अर्थतन्त्रका रूपमा उभ्याउने काम कसले गर्यो ? काँग्रेस आई र भारतीय जनता पार्टीले होइन ? चीनलाई विश्व अर्थतन्त्रका रूपमा उभ्याउने काम कसले गर्यो ? चिनियाँ कम्युनिष्ट पार्टीले होइन ? भारत र चीनमा पुराना राष्ट्रिय पार्टीले देश अगाडि बढाउनसक्ने, नेपालमा सधै नयाँ नयाँको प्रयोग भनेर स्थायित्वतर्फ जान नदिने ? यस्तो पनि हुन्छ । 
महासचिव पोखरेलले भारत प्रवास नेपालको राजनीतिक जागरणका सन्दर्भमा अत्यन्त महत्वपूर्ण थलो भएको र नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रवासी नेपालीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । 
सम्मेलनमा महासचिवका साथै नेपालबाट नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी, लक्ष्मण रायमाझी लगायतका नेताहरूको अतिथिका रूपमा सहभागिता रहेको छ ।