detail-img

मिसन ग्रासरुटः पार्टीको ‘होल बडी चेकअप’ अभियान

सुर्खेत । नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत जिल्ला जिल्लामा अभिमुखीकरण लगायतका गतिविधि शुरू भएका छन् । 
यस क्रममा सुर्खेतमा सोमबार जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरियो । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका लागि कर्णाली प्रदेश संयोजकका रूपमा खटिनुभएका पार्टीका सचिव योगेश भट्टराईले पार्टीको संगठन थप मजबुद बनाउन ‘मिसन ग्रासरुट’ अभियान थालिएको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘यो अभियान पार्टीको ‘होल बडी चेकअप’ हो, अभियानले पार्टीलाई अझ व्यवस्थित बनाएर लैजाने छ ।’
नेकपा (एमाले) का नीति, विचार, सिद्धान्त र कार्यक्रम अरू कुनै पार्टीसँग दाँज्न नमिल्ने वताउँदै पार्टीले यिनै विषयहरू जनताका बीचमा लगेर समाज रूपान्तरणको अभियान चलाइरहेको वताउनुभयो ।


अभिमुखीकरण कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियानले नेता कार्यकर्तामा उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो । 
पार्टीका सबै नेता कार्यकर्ता एउटै लयमा हिँड्नुपर्नेमा कहिलेकाहीँ अन्तविरोधहरू देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीलाई एकताबद्ध लयमा हिँडाउनु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । अर्का केन्द्रीय सदस्य धर्मराज रेग्मीले यो अभियानले पार्टी थप व्यवस्थित र बलियो बन्नुका साथै कार्यकर्ताको सक्रियता पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
सुर्खेतमा अभियानको शुभारम्भ आज अभिमुखीकरणबाट गरिएको छ । मङ्गलबारदेखि नेताहरू गाउँ बस्तीहरूमा खटिनुहुने छ ।