detail-img

सचिवालय बैठकः उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय 

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालयको सोह्रौं बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । 
सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुस १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै राजनीतिक दलसँग सहयोगका लागि आह्वान गर्दै समर्थनका लागि पहल गर्ने निर्णय गरेको छ । 
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।


बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा जानकारी गराउनुभएको थियो । 
यसैगरी, आजको बैठकले पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागको सचिवमा दीपकप्रकाश भट्टलाई मनोनयन गरेको छ भने केन्द्रीय सदस्य दुर्गा प्रसाईं पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न रहेकाले केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।