detail-img

राष्ट्रपतिमा उपाध्यक्ष नेम्वाङको उम्मेदवारी 

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । 
अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरूसहित सङ्घीय संसद भवन, नयाँ बानेश्वर जानुभई उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दिनुभएको थियो । 
उहाँको प्रस्तावकमा अध्यक्ष ओली, नेताहरू पृथ्वी सुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा हुनुहुन्छ भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के हुनुहुन्छ ।


संविधान सभाका अध्यक्ष नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ । 
पार्टीको आज विहान बसेको सचिवालयको बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । 
वर्तमान सरकार गठन गर्दा  २०७९ पुस १० गते सत्ता साझेदार दलहरूबीचको सहमति अनुसार नेकपा (एमाले) ले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज २०७९ फागुन १३ गते उम्मेदवारी दर्ता गराउनुपर्ने थियो ।