detail-img

राष्ट्रपतिका उम्मेदवार नेम्वाङको पक्षमा मतदान गर्न आग्रह 

काठमाडौं । नेकपा (एमाले) ले विभिन्न राजनीतिक दलहरूसँग भेट गरी राष्ट्रपतिको निर्वाचनमा पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि आग्रह गरेको छ । 
राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनसँगै सबै राजनीतिक दलहरूलाई पत्र पठाई सहयोगका लागि आग्रह गरेको नेकपा (एमाले) ले निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटी नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको हो । 
यसक्रममा पार्टीका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार नेम्वाङले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नुभई आफूलाई मतदान गर्न र गराउन आग्रह गर्नुभएको छ । उहाँका साथमा रहनुभएका पार्टीका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भएको वताउनुभयो । 
यसैगरी नेकपा (एमाले) का नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग पनि ति पार्टीका कार्यालयमा पुगेर नेताहरूसँग भेट गरी नेम्वाङको पक्षमा मतदानका लागि आग्रह गर्नुभएकोे छ । 
राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहित नेताहरूले लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटी राष्ट्रपतिका उम्मेदवार नेम्वाङको पक्षमा मत माग्नुभएको छ ।