detail-img

एकीकृत समाजवादीका पेशागत क्षेत्रका नेताकार्यकर्ता नेकपा (एमाले) मा समाहित 

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट स्थानीय तह कर्मचारी संघ, नेपाल नेकपा (एमाले) को जनसंगठन पेशागत महासंघ नेपालमा समाहित भएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज (२०७९ फागुन २० गते) आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरूलाई खादा र टीका लगाई स्वागत गर्नुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले पुरानै घर नेकपा (एमाले) मा फर्किएर अत्यन्तै सही निर्णय गरेको र पार्टीमा सबैले विना भेदभाव काम गर्ने अवसर पाउने वताउनुभयो । अध्यक्ष ओलीले  प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका लेखा परीक्षण आयोगका सचिवसमेत रहनुभएका संघका अध्यक्ष श्रेष्ठले स्थानीय तह कर्मचारी संघ, नेपाल नेकपा (एमाले) को जनसंगठन पेशागत महासंघ नेपालमा समाहित भएको घोषणा गर्नुभयो । 
अध्यक्ष श्रेष्ठले नेकपा एकीकृत समाजवादी दिनप्रतिदिन स्खलन हुँदै दक्षिणपन्थी भासतर्फ अगाडि बढिरहेकाले आफूहरू नेकपा (एमाले) मै फर्किएको वताउनुभयो । उहाँले गएको निर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गरेको भए नेकपा (एमाले) ले बहुमत ल्याउने अवस्था रहेको तर नेकपा एसमा रहेर नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउने काम गर्नुपरेकोमा ग्लानी महशुस भएको वताउनुभयो । 
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थिति रहेको थियो । 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष बाबुराम थापाले महासंघमा समाहित स्थानीय तह कर्मचारी संघ, नेपालका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गर्नुभयो ।