detail-img

प्यूठान जिल्ला कमिटी सदस्य गोपालको मोटरसाइकल दुर्घटनामा निधन

काठमाडौं । नेकपा (एमाले) का प्यूठान जिल्ला कमिटी सदस्य रामबहादुर थापा ‘गोपाल’ को सवारी दुर्घटनामा परी असामयिक निधन भएको छ । 
पार्टीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिकामा खटिनुभएका गोपालको आज त्यसतर्फ जाँदै गर्दा माण्डवी गाउँपालिका–५ आँपचौरमा मोटरसाइकल दुर्घटना हुँदा दुःखद निधन भएको हो । 
उहाँसँगै मोटरसाइकल यात्रामा रहनुभएका प्यूठान जिल्ला कमिटी सदस्य बसन्ता भुसाल आचार्य घाइते हुनुभएकाले उपचारका लागि बुटवल पठाइएको नेकपा (एमाले) प्यूठान जिल्ला कमिटी अध्यक्ष विजयविराज विष्टले वताउनुभयो । 
नेकपा (एमाले) ले पार्टीको विशेष अभियानमा खटिरहेको अवस्थामा दुर्घटनामा परी असामयिक निधन हुनुभएका कमरेड रामबहादुर थापा ‘गोपाल’ को निधनप्रति दुःख व्यक्त गर्र्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । 
अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाल लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा पार्टीको केन्द्रीय कार्यालय,च्यासल, ललितपुरमा कमरेड गोपालको दुःखद निधन भएकामा मौन धारण गरियो । साथै, दुर्घटनामा घाइते हुनुभएका जिल्ला कमिटी सदस्य बसन्ताको शीघ्र स्वास्थ्य लाभको कामना गरियो । 
यसैगरी नेकपा (एमाले) जिल्ला कमिटी, प्यूठानका अध्यक्ष विजयविराज विष्टले शोक विज्ञप्ति प्रकाशित गरी कमरेड गोपालको असामयिक र अकल्पनीय निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको जनाउनुभएको छ ।कमरेड गोपालको निधनमा जिल्ला कमिटी प्यूठानले फागुन २१,२२ र २३ गते तीनदिन शोक मनाउने भएको छ । तीन दिनसम्म पार्टीका औपचारिक कार्यक्रम स्थगित गरिएको छ । ऐरावती गाउँपालिका निवासी जिल्ला कमिटी सदस्य गोपाल ५१ बर्षको हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।