detail-img

‘पार्टीलाई वैचारिकरूपमा सुदृढ बनाउन मिसन ग्रासरुट’

अर्घाखाँची । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले पार्टीलाई वैचारिकरूपमा सुदृढ र अनुशासित बनाउन मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभएको छ । 
सचिव रायमाझीले एमालेले आगामी संघ र प्रदेश चुनावपछि बहुमतको सरकार बनाएर देश विकास गर्न अहिलेदेखि नै तयारीको रूपमा यो अभियान सञ्चालन गरेको स्पष्ट गर्नुभयो ।
प्रेस चौतारी नेपालद्वारा शनिबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा नेता रायमाझीले एमालेलाई जनताले विश्वास र भरोसा गरेको वताउनुभयो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य डाक्टर राजन भट्टराईले सहमति भङ्ग गरेर पुष्पकमल दाहालले बेइमानी गरेको भन्दै कांग्रेससित नयाँ गठबन्धन बनाएकोमा आपत्ति जनाउनुभयो ।
पत्रकार सम्मेलनमा मिसन ग्रासरुटमा पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पोलिटव्यूरो सदस्यद्वय सूर्य थापा र विमला घिमिरे लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो । 
 

कास्कीको मादीमा विस्तारित बैठक

यसैगरी मिसन ग्रासरुट अन्तर्गत शुक्रबार कास्कीको मादी  गाउँ कमिटीको   विस्तारित बैठक बसी  १२ वटै वडामा बैठक, भेला तथा प्रशिक्षण गर्ने,  सदस्यता नवीकरण र विस्तार गर्ने, जनवर्गीय संगठनहरूको भेला गर्ने, फागनु २१ गते  शहीद दिवसको अवसरमा पार्टीलाई योगदान गर्दै आउनुभएका अग्रजहरू, भूमिगत कालका सेल्टरदाता र  शहीद परिवारका सदस्यको सम्मान गर्ने, जनप्रतिनिधि र पार्टी बीच अन्तरक्रिया कार्यक्रम गर्ने र विभिन्न संघ संस्थाका प्रतिनिधि, बौद्धिक एवं प्रबुद्ध बर्गसँग छलफल गरी सुझाव लिने लगायत कार्यक्रमहरू तय गरिएको छ । 
पार्टीका केन्द्रीय सदस्य भगवती न्यौपानेको उपस्थिति र गाउँ कमिटीका  अध्यक्ष बालकृष्ण गुरुङको  अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य न्यौपानेले पार्टीभित्र रहेका गलत प्रवृत्ति अन्त्य गरी सुदृढीकरणका साथै शुद्धीकरण गर्ने मिसन ग्रासरुटको उद्देश्य रहेको बताउनुभयो । बैठकमा केन्द्रीय सल्लाहकार परिषद सदस्य पदम पौडेल, जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, प्रदेश सचिवालय सदस्यहरू  पुष्पज्योती ढुङगाना, दामोदर बैरागीले पनि सम्बोधन गर्नुभएको थियो ।

पर्वतको फलेवासमा अभिमुखीकरण
मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत पर्वत जिल्लाको फलेवास नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं फलेवासका लागि केन्द्रीय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनगठनको गठन, पुनर्गठन, बैठक, सामाजिक अभियान, सदस्यता नवीकरण तथा विस्तार अन्य रचनात्मक काम, जनजीविकाका मुद्धाहरू उठान गर्दै अभियान सञ्चालन गरिने वताउनुभयो । 
उहाँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता यस अभियानमा परिचालित हुने हुँदा पार्टी सुदृढीकरण तथा विस्तारका लागि यो अभियान कोशेढुङ्गा सावित हुने वताउनुभयो ।
नगर कमिटी अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको अभिमुखीकरणमा केन्द्रिय सल्लाहकार परिषदका सदस्य गणेश शर्मा पौडेल, प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी, प्रेम कुमार लामिछाने, प्रेम पौडेल, जिल्ला कमिटी सचिव गोविन्द पहाडी, सचिवालय सदस्य इश्वरी भुसाल लगायतले अभिमुुखीकरण कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।
नगर कमिटीको दशौं बैठकले आगामी बैशाख ५ गतेसम्मको नगरस्तरीय बैठक, भेला, प्रशिक्षण, वडा तथा टोलस्तरीय बैठक, प्रशिक्षण, सदस्यता नवीकरण, जनसंगठनका भेला, प्रशिक्षण र अन्य रचनात्मक कार्यक्रमको कार्ययोजना तयार गरेको छ ।