detail-img

‘नेपालको लोकतान्त्रिक तथा बामपन्थी आन्दोलनमा झापा विद्रोहको विशिष्ट योगदान’  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा झापा विद्रोहको विशिष्ट योगदान रहेको वताउनुभएको छ ।
आज फागुन २१ गते, सहिद स्मृति दिवसका सन्दर्भमा  वक्तव्य प्रकाशित गरी अध्यक्ष ओलीले झापा विद्रोह नेपालको राजनीतिक इतिहासको एउटा अत्यन्त महत्वपूर्ण परिघटना भएको वताउनुभएको छ । 
झापा विद्रोह मार्फत् झापाका युवाहरुले निरङ्कुश राजतन्त्रका विरुद्ध सशक्त प्रतिरोधको शङ्खघोष गर्नुभएको स्मरण गर्दै अध्यक्ष ओलीले वक्तव्यमा भन्नुभएको छ– पचास वर्ष अगाडि आजकै दिन नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी कायरतापूर्ण हत्या गरिएको थियो । सहिद स्मृति दिवसको यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उहाँहरु लगायत राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक–आर्थिक रुपान्तरण र समाजवादी लक्ष्यका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

अध्यक्ष ओलीको सहिद स्मृति दिवसका सन्दर्भमा प्रकाशित वक्तव्य यस प्रकार छः                                                       

 सहिद स्मृति दिवसको सन्दर्भमा वक्तव्य 
आज फागुन २१ गते, सहिद स्मृति दिवस । पचास वर्ष अगाडि आजकै दिन नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्य सहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी कायरतापूर्ण हत्या गरिएको थियो । सहिद स्मृति दिवसको यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उहाँहरु लगायत राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक–आर्थिक रुपान्तरण र समाजवादी लक्ष्यका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 
झापा विद्रोह नेपालको राजनीतिक इतिहासको एउटा अत्यन्त महत्वपूर्ण परिघटना थियो । यस विद्रोह मार्फत् झापाका युवाहरुले निरङ्कुश राजतन्त्रका विरुद्ध सशक्त प्रतिरोधको शङ्खघोष गर्नुभएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न शिथिलता, विभाजन र विखण्डनको सिलसिलामा सशक्त हस्तक्षेप गर्दै यस परिघटनाले विद्रोह, पुनर्गठन, पुनर्निर्माण र एकीकरणको नयाँ धार निर्माण गरेको थियो । राजनीतिमा देखा परेका अकर्मण्यता, नैराश्य र आत्मसमर्पणवादी प्रवृत्तिलाई अस्वीकार गर्दै यस आन्दोलनले गतिशीलता, आशावाद र बलिदानका नयाँ मूल्यहरु स्थापित गरेको थियो । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा झापा विद्रोहको विशिष्ट योगदान रहेको छ ।
आन्दोलनले सल्काएको विद्रोहका ज्वालाहरुलाई निभाउन तत्कालीन राज्यसत्ता क्रूरतापूर्वक प्रस्तुत भयो । दर्जनौं योद्धाहरु मारिनु भयो । आन्दोलनका कैयौं नेताहरुमाथि झुठा अभियोगहरु लगाएर कठोर यातना दिइयो, १६÷१७ वर्षसम्म जेल र गोलघरमा बन्दी बनाइयो । कैयौंलाई विस्थापित हुन वाध्य बनाइयो । तर राज्य आतङ्क सिर्जना गरेर विद्रोहलाई समाप्त पार्ने राजतन्त्रका प्रयासहरु सफल हुन सकेनन् । ठूलो धक्का र क्षतिका बाबजुद आन्दोलन धुलो टक्टक्याउँदै उठ्यो । आफैभित्र सिर्जित उग्रवामपन्थी कमजोरी र राज्यसत्ताका दमन दुबै विरुद्ध कठोर वैचारिक– राजनीतिक सङ्घर्ष ग¥यो । आन्दोलनका प्रभावहरु क्रमशः देशैभरि विस्तारित, सङ्गठित र सशक्त बन्दै गए ।  वाह्य अनुभवहरुको अन्धानुकरण, सङ्कीर्णता र जडसूत्रवादी गल्तीहरु सच्याउँदै माक्र्सवादका सार्वभौम सच्चाइको आलोकमा नेपाली क्रान्तिको मौलिक बाटो र सिद्धान्तको खोजी कार्य अगाडि बढ्यो । आज जनताको बहुदलीय जनवाद तिनै वैचारिक अन्वेषण, विश्लेषण र संश्लेषणको उच्चतम सैद्धान्तिक उपलब्धिका रुपमा स्थापित छ । कोअर्डिनेशन केन्द्र र नेकपा (माले) हुँदै आज नेकपा (एमाले) का रुपमा कम्युनिष्ट आन्दोलन र देशकै मुख्य राजनीतिक शक्ति बनेको हाम्रो पार्टीको जगमा त्यसै आन्दोलनको बिरासत रहेको छ । पार्टीको यस उचाइ र विस्तारको जगमा आदरणीय सहिदहरुको प्रेरणास्रोत अन्तरनिहित रहेको छ ।
प्रतिरोध, त्याग र बलिदानकै यस शृङ्खलामा छिन्ताङ, पिस्कर लगायत अनेकौं  जनसङ्घर्ष र तिनीहरुमाथि तत्कालीन राज्यसत्ताबाट क्रूर दमन भएका छन् । रत्नकुमार बान्तवा, हरि नेपाल, ऋषि देवकोटा ‘आजाद‘ लगायत अनेकौं नेताहरुले आफ्नो जीवन उत्सर्ग गर्दै आन्दोलनको चिरागलाई अगाडि बढाउनु भएको छ ।
कम्युनिष्ट आन्दोलनको पुनर्गठन, पुननिर्माण, एकीकरण, निःस्वार्थ जनसेवा, बलिदान र समृद्ध एवं समुन्नत राष्ट्रका सपना जस्ता झापा आन्दोलनले स्थापित गरेका मूल्यहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।
आज मुलुक असामान्य परिस्थितिबाट गुज्रिरहेको छ । विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्ति राष्ट्रहरुका प्रतिष्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ । राजनीतिमा देखा परेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएका छन् । मुलुकको अर्थतन्त्र सङ्कुचन, मन्दी र सङ्कटको चरणबाट गुज्रिएको छ । विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानीकारक नीतिहरुका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको छ । विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारिँदा, जनताको सेवाप्रवाहमा वाधा सिर्जना गरिँदा, राजनीति भनेकै जसरी पनि सत्ता प्राप्तिका लागि हो र सत्ता भनेकै भागबण्डाका लागि हो भन्ने जस्ता गलत मान्यता स्थापित हुँदैछन् । राजनीतिमा जवाफदेहिता, पारदर्शिता, विश्वसनीयता र मूल्यहरुको केही अर्थ छैन भन्ने जस्ता विकृतिहरुलाई संस्थागत गरिँदा जनतामा नैराश्य निरन्तर बढिरहेको छ । सामाजिक सद्भाव, सौहार्दता र मौलिक मूल्यहरुको विघटन तीव्र बन्दै गएको छ । यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्तिहरु सलबलाई रहेका देखिन्छन् भने अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको छ ।
बलियो राष्ट्रिय शक्तिको नेतृत्वमा मात्रै यी चुनौतीलाई चिर्न र मुलुकलाई सही दिशाबोध गर्न संभव छ । बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न संभव छ । र, त्यस्तो स्थायित्वको बलमा मात्रै राष्ट्रिय हितको रक्षा, विकास र समृद्धि प्राप्ति संभव छ, सुशासन एवं सामाजिक न्यायको प्रत्याभूति संभव छ ।  नेकपा (एमाले) को नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै यस्तो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्छ भन्ने स्पष्ट छ । 
कम्युनिष्ट आन्दोलनलाई विभाजित गरेर पुँजीवादीहरुलाई नेतृत्वमा स्थापित गर्ने, दक्षिणपन्थी शक्ति बलियो बन्दा गौरववोध गर्ने तथा सत्तालिप्सा, आत्मसमर्पण र कम्युनिष्ट आदर्शहरुको स्खलनका माध्यमबाट आन्दोलनलाई भित्रैदेखि समाप्त पार्ने दक्षिणपन्थी अवसरवाद आज कम्युनिष्ट आन्दोलनको सशक्तीकरणका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सशक्त राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु  र यसको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अगाडि बढ्नु नै हाम्रा अग्रज सहिदहरुप्रतिको साँचो श्रद्धाञ्जली ठहरिने छ ।
सहिद स्मृति दिवसको यस पुनित दिनमा हाम्रो पार्टी पुनः एकपटक महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुको आदर्शलाई अविचलित रुपले पछ्याइरहने सङ्कल्प गर्दछ ।
    
 
केपी शर्मा ओली
अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (एमाले)