detail-img

‘भारतबाट आउने तरकारी समेत परीक्षण गर्न नसक्ने सरकारले जनतालाई राहत दिन सक्दैन’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भारतबाट आयात हुने विषादीयुक्त तरकारीको परीक्षण समेत गर्न नसक्ने सरकारले जनतालाई खुशी र राहत दिन नसक्ने वताउनुभएको छ ।  
स्वर्गीय यदुकुमार गौतमको २४ औं स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 
महासचिव पोखरेलले माथिल्लो मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने विषयमा सरकारको सहमतिबाट मुलुक बर्बादीतिर जान लागेको सङ्केत गर्छ भन्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– ‘मानव वस्ती नै नभएको ठाउँमा विश्व विद्यालय बनाउनुमा गलत नियत रहेको छ ।’

 
महासचिव पोखरेलले उग्रबामपन्थी अतिवादले मुलुकको समस्या समाधान नगर्ने हुनाले शान्ति प्रक्रिया र आर्थिक समृद्धि नै मुलुकको निकास भएको बताउनुभयो ।  
यदु गौतमले तत्कालीन समयमा उठाएको माग र लिएको बाटो नै आखिरमा सही पुष्टि भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो– ‘हिंसा र विद्रोहको बाटोबाट कहीँ पुग्न सकिँदैन, शान्ति प्रक्रियाकै बाटो अङ्गिकार गरेर अघि बढ्नुपर्छ भन्ने उहाँको बाटो थियो, तत्कालीन विद्रोही शक्ति माओवादी शान्ति प्रक्रियामा आएपछि उहाँले लिएको बाटो सही थियो भन्ने पुष्टि भयो ।’
स्वर्गीय गौतमको विचार नै अहिले सफल विचार भएकाले त्यही बाटोमा मुलुक अघि बढिरहेको उहाँले चर्चा गर्नुभयो । विनाकारण निर्ममतापूर्वक माओवादीले गौतमको हत्या गरेको भए पनि माओवादी नेतृत्वले अहिलेसम्म पश्चाताप नगर्नु विडम्बनापूर्ण रहेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– ‘माओवादीमा अझै उग्रबामपन्थी अतिवाद कायमै रहेको यसले सङ्केत गर्छ ।’ 
नेपालको राजनीति अहिले गलत बाटोमा गइरहेको र यसले मुलुकको आर्थिक अवस्था तहसनहस हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सरकारले लिएको अहिलेको नीति नै गलत दिशामा गइरहेको महासचिव पोखरेलको भनाई छ । 
उहाँले यसअघि नेकपा (एमाले) समेतको सहभागितामा रहेको सरकारले आर्थिक क्षेत्रमा  केही सुधारको सङ्केत देखाए पनि अहिले देश आर्थिक रुपले समस्याको बाटोमा गएको सङ्केत आर्थिक सूचकहरुले देखाइसकेको चर्चा गर्नुभयो । 
वर्तमान राजनीतिक गठबन्धन केवल स्वार्थको गठबन्धन मात्र रहेको, देश र जनताको पक्षमा काम गर्नेगरी गठबन्धन नबनेकाले यसको टिकाउ नहुने उहाँले भनाई छ । 
तत्कालिन समयमा सत्य कुरा सुझाएकै कारण यदु गौतमको हत्या भएको भन्दै उहाँले सही बाटो र विचारको ढिलै भए पनि विजयी हुने यदुको विचारले पुष्टि गरेको उहाँले बताउनुभयो । सो अवसरमा महासचिव पोखरेलले स्वर्गीय गौतम र झापाको सुखानी घटनामा शहादत प्राप्त गर्ने सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले सही विचार र मिसनको  विजय निश्चित हुने कुरा यदु गौतमको विचारले पुष्टि गरेको बताउनुभयो । अहिले मुलुकमा एमालेले लिएको बाटो नै मुलुकको निकासको सही बाटो भएकाले एमालेलाई बलियो शक्ति बनाएरै मुलुकको निकास सम्भव रहेको उहाँले चर्चा गर्नुभयो । 
यदु स्मृति प्रतिष्ठानका अध्यक्ष सुजाता गौतमको सभापतित्वमा भएको कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य सीता पौडेल, सल्लाहकार परिषदका उपाध्यक्ष गोमा देवकोटा, प्रदेश सांसद चन्द्रबहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । 
सो अवसरमा महासचिव पोखरेलले स्व. यदु गौतमको स्मृतिमा स्थापित पुरस्कार स्व. यदु गौतम स्मृति पत्रकारिता पुरस्कार पत्रकार लक्की चौधरीलाई प्रदान गर्नुभयो । पुरस्कार नगद रु. २० हजार र सम्मानपत्र रहेको छ ।