detail-img

‘नेपाल राष्ट्र र नेपाली जनताको हितविरूद्धका कुनै पनि कदम सफल हुन दिइने छैन’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र र नेपाली जनताको हितविरूद्ध सरकारले चाल्ने कुनै पनि कदम सफल हुन नदिने वताउनुभएको छ ।
अहिले नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरू सत्ता स्वार्थको राजनीति गरिरहेको वताउँदै अध्यक्ष ओलीले सत्ता स्वार्थका लागि देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतामा आँच आउने गरी सरकारले चाल्ने कुनै पनि कदम नेकपा (एमाले) ले सहन सक्दैन भन्नुभयो । 
सुखानी बलिदानको स्मृतिमा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा आज ( २०७९ फागुन २१ गते) आयोजित ५०औं सहिद  दिवस कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय स्थापनाका सन्दर्भमा प्रतिक्रिया स्वरूप उपरोक्त धारणा  राख्नुभएको हो । 
मुस्ताङमा जसरी विश्वविद्यालय बनाउने भनिएको छ, त्यसबाट नेपाललाई विदेशीको खेल मैदान बनाउन  खोजिएको हो, यो देशको हितमा छैन भन्ने भनाई अध्यक्ष ओलीको रहेको छ ।

सत्ता स्वार्थका लागि राष्ट्रको अस्तित्वमा जोखिम निम्त्याउन पाइँदैन
‘हाम्रा पुर्खाले कहिल्यै पराधीन नभई, सारै ठूलो बलिदानबाट, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल हो, एक्काइसौं शताब्दीमा आएर सत्ता स्वार्थका लागि राष्ट्रको अस्तित्वमा खेलवाडपूर्ण ढङ्गले जोखिम निम्त्याउन पाइँदैन’ चर्चा गर्दै उहाँले भन्नुभयो– हामी हाम्रो राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतालाई अत्यन्त माया गर्छौं । यसमा कसैले पनि अतिक्रमण गर्न पाइँदैन । त्यस्तो भयो भने हामी सहन सक्दैनौं । 
‘हाम्रो यस धारणाबाट कसैको चित्त दुख्छ भनेर हामी चुप लागेर बस्दैनौं’, अध्यक्ष ओलीले भन्नुभयो– हामी अरूको अहितबाट राष्ट्रिय हित खोजिरहेका छैनौं, हामी न्यायको पक्षमा बोलिरहेका छौं । हामी छिमेकी मित्रराष्ट्रसँग सार्वभौम समानता, पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्ध कायम गर्न चाहन्छौं ।


नेकपा (एमाले) सही विचारका साथ सत्य र न्यायको बाटोमा

अध्यक्ष ओलीले नेकपा (एमाले) सही विचारका साथ सत्य र न्यायको बाटोमा अगाडि बढिरहेको हुँदा सत्यको जित सुनिश्चित र स्थायी हुने वताउनुभयो । 
अध्यक्ष ओलीले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासको चर्चा गर्दै झापा विद्रोहले छिन्नभिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने विचार, बाटो र तरिका दिएको वताउनुभयो । 
उहाँले भन्नुभयो– नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भए पनि सैद्धान्तिक रूपमा राजनीतिक जागरण ल्याउन प्रजापरिषद गठनकै समयदेखि कम्युनिष्ट आन्दोलन शुरू भएको मान्नुपर्छ । र, कम्युनिष्ट पार्टीले राष्ट्रिय आकार ग्रहण गर्ने क्रममा गुटबन्दीका कारण छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र पुनर्गठन गर्दै आजको अवस्थामा ल्याइपुर्याउने विरुवाको रूपमा झापा विद्रोहलाई लिनुपर्छ । 
नेपालको कम्युनिष्ट आन्दोलनलाई दमन गर्ने सिलसिलामा धेरै योद्धाहरूको हत्या भएको र झापा विद्रोहका पाँच जना योद्धालाई जेलबाट निकालेर जङ्गलमा लगी गोली हानिएको चर्चा गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनमा लागेका नेताकार्यकर्ताहरू जहानियाँ राणा शासन र निरङ्कुश पञ्चायती शासनमा मात्र नभई नेपाली काँग्रेसको सरकार रहेको समयमा समेत धेरैले ज्यान गुमाएको वताउनुभयो । 

 गणतन्त्र जनयुद्धबाट ल्याइएको होइन

मानव जीवनको मूल्य नबुझ्ने तत्वले आफ्नो स्वार्थका लागि मानिस मार्ने गरेको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– २०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मानिस मारिए । हाम्रो पार्टीको मान्यता एउटाको स्वार्थका लागि अर्कोको जीवन जाने स्थिति रहनुहुँदैन भन्ने हो । 
उहाँले भन्नुभयो– नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र २०६५ सालमा संसदबाट राजतन्त्र अन्त्यको घोषणा गरिएबाट आएको हो । माओवादीले २०६३ सालमै सशस्त्र सङ्घर्ष छोडेका थिए र २०६४ साल मङ्सिरमा शान्ति सम्झौता भएको थियो । जनयुद्धबाट गणतन्त्र ल्याइएको होइन ।


अध्यक्ष ओलीले नेपाली समाजको परिवर्तन र रूपान्तरणका लागि धेरैले बलिदान गर्नुभएको चर्चा गर्दै नेपालको लोकतान्त्रिक, बामपन्थी, देशभक्तिपूर्ण आन्दोलनमा जीवन गुमाउनुभएका योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । 
उहाँले नेपाली समाजको रूपान्तरण, देशभक्तिपूर्ण आन्दोलनमाथि भएको अमानवीय, निर्मम र गैरकानुनी दमनचक्रको निन्दा र भत्र्सना पनि गर्नुभयो । 
नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरू रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पचास वर्ष अगाडि (२०२९ साल फागुन २१ गते) आजकै दिन जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी कायरतापूर्ण हत्या गरिएको थियो । 
सोही घटनाको स्मृतिमा नेकपा (एमाले) ले फागुन २१ गते सहिद स्मृति दिवस मनाउँदै आएको छ । 
अध्यक्ष ओलीले आज आयोजित कार्यक्रममा झापा विद्रोहमा मारिनुभएका योद्धाहरुको तस्वीरमा माल्यार्पण गर्नुका साथै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक–आर्थिक रुपान्तरण र समाजवादी लक्ष्यका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।


झापा विद्रोहका योद्धाको प्रेरणाबाट चौतर्फी आक्रमणबीच पार्टी अगाडि बढ्न सफल

कार्यक्रममा महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई झापा विद्रोह र बलिदानले नयाँ शिराबाट एकताबद्ध गर्ने काम गरेको वताउनुभयो । 
महासचिव पोखरेलले आज नेकपा (एमाले) का विरूद्धमा चौतर्फी घेराबन्दी र आक्रमण जारी रहँदा पनि पार्टी देश, जनता, विकास, समृद्धि र स्वाधीनता आन्दोलनमा अगाडि बढ्नका लागि झापा विद्रोहमा मारिनुभएका योद्धाहरूको बलिदानीबाट प्रेरणा मिलेको वताउनुभयो । 
उहाँले आजकै दिन (फागुन २१ गते) कमरेड यदु गौतम माओवादी आतङ्कको शिकार हुनुभएको स्मरण गर्दै स्व. गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । 
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बिष्णुप्रसाद पौडेल, उपमहासचिव बिष्णु रिमाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, विश्वेश्वरा दाहाल लगायत पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।