detail-img

कमरेड गोपालको निधनप्रति दुःख व्यक्त 

काठमाडौं । नेकपा (एमाले) ले प्यूठान जिल्ला कमिटी सदस्य कमरेड रामबहादुर थापा ‘गोपाल’ को अकल्पनीय र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै स्व. थापाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । 
पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत उहाँलाई जिम्मेवारी तोकिएको स्थानीय तह प्यूठानको सरुमारानी गाउँपालिका जाने क्रममा २०७९ फागुन २० गते माण्डवी गाउँपालिका– ५ आँपचौरमा मोटरसाइकल दुर्घटनामा परी थापाको दुःखद निधन भएको थियो । 
पार्टी महासचिव शंकर पोखरेलले शोक विज्ञप्ति प्रकाशित गरी कमरेड गोपालको अकल्पनीय र असामयिक निधन भएको घटनाले पार्टीलाई अत्यन्त दुःखी बनाएको जनाउनुभएको छ । 
जीवनभर राजनीतिमा सक्रिय कमरेड गोपालको पार्टी कामकै सिलसिलामा निधन भएको घटनाले पार्टीपङ्ती मर्माहत भएको र उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको महासचिवको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
महासचिव पोखरेलले कमरेड स्व. गोपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँकोे योगदानलाई पार्टीले सधै स्मरण गरिरहने जनाउनु भएको छ । 
विज्ञप्तिमा महासचिव पोखरेलले शोकमा रहनुभएका कमरेड गोपालका श्रीमती, छोराछोरी र अन्य आफन्तजनप्रति पार्टीको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।   
सोही दुर्घटनामा शक्त घाइते हुनुभई उपचाररत प्यूठान जिल्ला कमिटी सदस्य कमरेड वसन्ता भुसाल आचार्यको नेकपा (एमाले) ले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।