detail-img

शान्ति प्रक्रिया टुङ्ग्याइनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै नचाहेको वताउनुभएको छ । 
पार्टीद्वारा आज (२०७९ फागुन २२ गते)  केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आयोजित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएको समयमा नै द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आग्रह गर्दा प्रचण्डले वास्ता नगरेको  वताउनुभयो । 
अध्यक्ष ओलीले यस बिषयमा आफूले प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादर देउवालाई पटक पटक आग्रह गरेको बताउनुभयो । 
उहाँले भन्नुभयो– ‘शान्ति प्रक्रिया टुङ्गो लगाउन एउटा खाका बनाउँ भनेर मैले प्रचण्ड र शेरबहादुरजीलाई पटकपटक भनेको थिएँ तर उहाँहरूले वास्ता गर्नु भएन ।’
‘हामी अहिले पनि भन्न चाहन्छौं, यो शान्ति प्रक्रिया हामीले अगाडि बढाएका हौं, टुङ्गिनुपर्छ, टुङ्ग्याइनुपर्छ । यसलाई अनवरत त्यत्तिकै राख्ने, पीडितले न्याय नपाउने स्थिति हुनुहुँदैन ।’
अध्यक्ष ओलीले भन्नुभयो–मानवता विरूद्धका गम्भीर अपराधका सम्बन्धमा अन्तर्राष्ट्रिय कानुन, मूल्यमान्यता र हाम्रो सर्वोच्च अदालतको फैसला आदि कुरालाई ध्यानमा राखेर अविलम्ब टुङ्ग्याउनुपर्छ भनेर अस्ति (पुस १० पछिको एमाले समेतको) सरकार भएका बेला पनि मैले जोड दिएँ, त्यतापट्टि प्रधानमन्त्री प्रचण्डको ध्यान गएन । 
‘नेकपा (एमाले) लाई पेलेर जान सकिन्छ भन्ने धेरै ठूलो भ्रममा हुनुहुन्छ उहाँहरू, तर त्यो गलत हो’ अध्यक्षले भन्नुभयो ।


अध्यक्ष ओलीले लोकतन्त्र रक्षाका लागि एमालेले सबै राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । 
अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले नेपाली काँग्रेस लगायत सबैसँग सहकार्य गर्न तयार छ । एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’
अध्यक्ष ओलीले माओवादी केन्द्रमा बलिदान गरेका नेताहरू रहे पनि त्यो पार्टी एकजना नेताको बन्दी बनिरहेको विचार व्यक्त गर्नुभयो ।  
अभिमुखीकरणमा पार्टीका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित हुँदा संविधानको रक्षा पहिलो दायित्व हुने बताउनुभयो । 
अभिमुखीकरणमा नेकपा (एमाले) का प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सांसदहरू सहभागी हुनुहुन्थ्यो ।