detail-img

अध्यक्ष ओलीको शुभकामना सन्देश–महिला सशक्तीकरणको अभियानमा एकजुट भएर लाग्न आह्वान 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) संसारभरका महिलालाई समानताको हक अधिकार स्थापित गर्ने प्रेरणादायी दिन भएको वताउँदै महिला सशक्तीकरणको अभियानमा सबै एक भएर लाग्न आह्वान गर्नुभएको छ । 
आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिनुहुँदै अध्यक्ष ओलीले महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । 
उहाँले सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख र समृद्धि एवं सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 
नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको र ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अत्यन्त जरूरी रहेको वताउनुभएको छ ।  
अध्यक्ष ओलीले विगतमा नेकपा (एमाले) को सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको स्मरण गर्नुभएको छ । 
नेकपा (एमाले) सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको चर्चा गर्दै अध्यक्ष ओलीले सन्देशमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम रहेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले भन्नुभएको छ– राजनीतिक अस्थिरता मार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि अघि बढाइएको अभियान कमजोर बनाउने दुष्प्रयास अहिले पनि जारी छ । अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्थतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरू बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ ।  न्यायप्रेमी जनसमुदायको साथ लिएर हामी यसलाई अझै अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानलाई सफल बनाउन रचनात्मक ढङ्गले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइमा म हार्दिक अपिल गर्दछु ।
अध्यक्ष  केपी शर्मा ओलीको शुभकामनाको पूर्ण पाठ यस प्रकार छः 

शुभकामना 
महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रूपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ । संसारभरका महिलाहरूलाई समानताको हक अधिकार स्थापित गर्ने यस प्रेरणादायी दिवसका अवसरमा म सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख र समृद्धि एवं सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 
नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको छ । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरूको समान सहभागिता अत्यन्त जरुरी छ । 
विगतमा हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको थियो । नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ । आज स्थानीय तहमा हजारौं महिलाहरूको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको छ । लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फवाट भएका नीतिगत, कानूनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उल्लेखनीय रूपमा बृद्धि भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सूचकहरूमा पनि सकारात्मक सुधार भएका छन् । 
यद्यपि समाजको न्युन चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरू कायम छन् । कानूनी प्रवन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरूलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ । यस्तो जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरू कायमै छन् । महिलामाथि यौन हिंसाजस्ता जघन्य अपराधका घटना हामी दिनदिनै सुन्न र भोग्न वाध्य छौँ । अज्ञानता र कुरीतिको आड लिएर हुने खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् । यसले महिलामाथि दुव्र्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ । यसखाले अपराधलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रूपमा जनचेतना जगाउनु आवश्यक छ । यस्ता विभिन्न प्रकार र स्वरूपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरूलाई जरैदेखि निर्मूल गर्न अपराधीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था तथा समाजमा नैतिक जागरण र सचेतना अभियान चलाउनु आवश्यक छ । 
नेकपा (एमाले) मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी हो । हाम्रै सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्वन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय बृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको थियो  । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम हो । राजनीतिक अस्थिरता मार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि नेकपा (एमाले)ले अघि बढाएको अभियान कमजोर बनाउने दुश्प्रयास अहिले पनि जारी छ । अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्थतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरू बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ ।  न्यायप्रेमी जनसमुदायको साथ लिएर हामी यसलाई अझै अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक अपिल गर्दछु । 
महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मुलतः शिक्षामा जोड दिंदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक आह्वान गर्दछु । र, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।