detail-img

बाग्ममती प्रदेशः मिसन ग्रासरुट कार्यक्रम वडातहमा

काठमाडौं । नेकपा (एमाले) ले देशभरका पालिकाहरूलाई केन्द्रित गरेर सञ्चालन गरिरहेको मिसन ग्रासरुट तिब्रताका साथ अघि बढिरहेको छ । रामेछापको गोकुलगङ्गा गाउँपालिकामा पार्टी पोलिटब्यूरो सदस्य अरूण नेपालको उपस्थितिमा  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले) गोकुलगङ्गा गाउँ कमिटीका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा पोलिटब्यूरो सदस्य नेपालले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, बाग्मती प्रदेश सदस्य शान्तिप्रसाद पौडेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, प्रदेश सदस्य दीपशिखा दाहाल, पार्टीका जिल्ला सचिव पुरुषोत्तम कडरिया लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । पालिकास्तरको कार्यक्रम सकेपछि वडा र बस्तीस्तरसम्म अभियान सञ्चालन हुने भएको छ । 

चितवनको माडीमा अभिमुखीकरण तथा सम्मान कार्यक्रम


मिसन ग्रासरूट अन्तर्गत चितवनको माडी नगरपालिका वडा नम्बर ६ र ७ मा पार्टी पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा प्रदेश कमिटी सदस्य अञ्जन तिमिल्सेना, राजाराम रेग्मी, दिव्य शर्मा, कृष्णलाल चौधरी, जिल्ला कमिटी उपसचिव प्रकाश ढुङ्गानाको उपस्थिति रहेको थियो ।
यस्तै, माडी नगरपालिकाकै वडा नम्बर ८ मा पनि मिसन ग्रासरुटअन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा पार्टी र समाजको विकासमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 

नुवाकोटको विदुरमा वडा कमिटी बैठक


मिसन ग्रासरूट अन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९ को वडा कमिटीको बैठक पार्टी पोलिटब्यूरो सदस्य कृष्ण राईको उपस्थितिमा  सम्पन्न भएको छ । 
बैठकमा कमिटी सदस्यहरूले पार्टीका लागि निर्वाह गर्नुपर्ने भूमिका, कमिटी परिचालनका लागि प्रोत्साहन, कार्यकर्ता संरक्षण, सदस्यता नवीकरण र विस्तार, विकास निर्माणका काम साथै अन्य जनसरोकारका बिषयमा पार्टीले गर्नुपर्ने काम लगायतका विषयमा छलफल भएको थियो । 

धादिङका विभिन्न वडामा विस्तारित बैठक


धादिङ जिल्लाका विभिन्न वडाहरूमा विस्तारित बैठकहरू सञ्चालन भइरहेका छन् । मङ्गलबार धादिङका विभिन्न वडामा विस्तारित बैठकहरू भएका छन् । 
यसैबीच, गङ्गाजमुना गाउँपालिका वडा नम्बर ४ सातदोबाटोमा वडास्तरीय विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठको उपस्थितिमा बैठक सम्पन्न भएको गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामिछानेले जानकारी दिनुभयो । 
विस्तारित बैठक तथा भेलालाई नेकपा (एमाले) का केन्द्रीय सदस्य श्रेष्ठ, प्रदेश कमिटी सदस्य ध्रुब विक, नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर घले, सचिव अर्जुन श्रेष्ठ, गङ्गाजमुना गाउँकमिटीका अध्यक्ष भक्तबहादुर लामिछानेले सम्बोधन गर्दै पार्टी निर्माणको बृहत अभियानमा सहभागी हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 
केन्द्रीय सदस्य श्रेष्ठले नेकपा (एमाले) को सरकारले गरेका विकासका कार्यक्रमहरूले पार्टीलाई बुझ्न सजिलो हुने बताउँदै युवालाई रोजगार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, सबै वडामा स्वास्थ्यचौकी, सबै पालिकामा अस्पतालको अवधारणामा विकासका काम एमालेले गरेको बताउनुभयो । बैठकले टोलकमिटी गठन गर्ने, वडास्तरमा किसान, विद्यार्थी, युवा लगायतको जनसंगठन निर्माण गर्ने, पार्टी सदस्यता नवीकरण तथा नयाँ वितरणको कार्ययोजना बनाएको छ ।
यसैबीच, नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा पनि कमिटी बैठक तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले एमालेले मात्र विकास र समृद्धिको सपना पूरा गर्ने भएकाले एमालेमा जनतालाई गोलबन्द गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । बैठकमा पार्टीका प्रदेश कमिटी सदस्य नरेश खतिवडा, जिल्ला कमिटी उपसचिव राधिका सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो । 
यसैगरी, मिसन ग्रासरूट अन्तर्गत धुनीबेसी नगरपालिका वडा नम्बर ८ को वडा कमिटी बैठक खानीखोलामा सम्पन्न भएको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य बाबुराम थापाको उपस्थितिमा सम्पन्न बैठकलाई बाग्मती प्रदेश कमिटी सदस्य डा. रामकुमार अधिकारी, जिल्ला कमिटी सदस्य गोबिन्द कँडेल, सुरेश आचार्य, मन्दिरा श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो । बैठकले वडाको जनसंगठन निर्माण तथा पुनर्गठन, टोल कमिटी गठन, सदस्यता विस्तार, पार्टी छाडेकालाई पार्टीमा फर्काउने र नयाँ सदस्य बनाउनेबारे रणनीतिक योजना बनाएको छ ।