detail-img

सामाजिक सेवासहित अभियानमा लाग्न आग्रह

तुलसीपुर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले सामाजिक सेवासहित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) मा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 
नेकपा (एमाले) घोराही नगर कमिटीका अध्यक्ष भुवन चौधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीको प्रमुख आतिथ्यमा आज यहाँ मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रम सम्पन्न भएको हो । 
मुख्यमन्त्री गिरीले सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्घिको मार्गमा अगाडि बढेको बताउनुभयो । मुख्यमन्त्री गिरीले साधन स्रोतको अभाव भए पनि नागरिकको सहयोगबाट प्रदेशलाई समृद्घिको मार्गमा अघि बढाउन सकिएको बताउनुभयो । 
मुख्यमन्त्री गिरीले सबैको समन्वय र सहकार्यबाट प्रदेशको विकास र समृद्घिको मार्गमा अघि बढ्न सकिने बताउनुभयो । उहाँले नागरिकका असीमिति चाहना र इच्छालाई जनप्रतिनिधिहरुले समन्वय गर्न सकेको अवस्थामा पूरा गर्न सकिने बताउनुभयो । 
मुख्यमन्त्री गिरीले नेकपा (एमाले) ले विगतमा गरेका कार्यहरूबाट नै जनताप्रति आकर्षण बढिरहेको बताउनुभयो । उहाँले जनताको आकर्षणलाई नेता कार्यकर्ताबाट विकासमा कार्यमा अग्रसरता दिलाउनुपर्ने बताउनुभयो । पार्टीका पोलिटब्यूरो सदस्य गिरीले अभियानका क्रममा पार्टी कार्यकर्ताहरुलाई गोलबद्ध मात्रै नभई सामाजिक कार्यहरूमा समेत अग्रसर हुनुपर्ने बताउनुभयो । 
उहाँले अभियानका क्रममा शिक्षालय, पाटी, पौवा, चौतारा, नदीनाला सरसफाई जस्ता सामाजिक विकासका कार्यमा लाग्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 
कार्यक्रममा लुम्बिनी प्रदेशका सचिवालय सदस्य एवम् तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अभियानका क्रममा पुराना नेता कार्यकर्ताहरूलाई सम्मान गर्ने कामको सुरुवात भएको बताउनुभयो । 
उहाँले  अभियानका क्रममा नागरिकमा एमालेप्रतिको आकर्षण बढ्दो क्रममा रहेको र विकासका कार्यहरूमा एमालेकै नेतृत्वबाट बढी आशा अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा मिसन ग्रासरुटमा जिल्लाबाट खटिनुभएका नेताहरूले हालसम्म गरिएका कामको विवरण प्रस्तुत गर्नुभएको थियोे ।