detail-img

पार्टीको ध्यान जनजीविकाका मुद्दाको पैरवीमा केन्द्रित हुनुपर्ने  

जुम्ला । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरूको पैरवीमा केन्द्रित हुने वताउनुभएको छ । नेता कँडेलले त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मिसन ग्रासरुट अन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आउनुभएका इन्चार्ज कँडेलले सदरमुकाम खलङ्गामा आयोजित चन्दननाथ नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) लाई घेराबन्दी गर्ने काम भएको बताउनुभयो ।
आगामी निर्वाचनबाट बहुमतप्राप्त दलका रूपमा रूपान्तरण गर्न पार्टीका सबै नेताकार्यकर्ता अहिलेदेखि नै लाग्नुपर्ने उहाँको धारणा छ । संगठन निर्माण जनताका जीविकाका प्रश्नहरूलाई महत्वका साथ उठान गर्नुपर्ने उहाँले बताउनुभयो । बैठकमा जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य विष्णु रिजालको पनि उपस्थिति थियो । बैठकमा हालसम्मको मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै नगरभित्र अझ प्रभावकारी बनाउनेबारेमा कार्ययोजना बनाइएको छ । 
जुम्लामा भइरहेका कामकाबारेमा केन्द्रीय प्रतिनिधिहरू विष्णु रिजाल, नगेन्द्र शाही (नेशनल) र गेहेन्द्र दाहालका साथै जिल्ला अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही र सचिव धनकृष्ण पाण्डेले जानकारी गराउनुुभएको थियो । अभियानलाई थप सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न कँडेलले निर्देशन दिनुभएको थियो ।
यसैबीच, जुम्लाको पातारासी गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । 
स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरेड यामलाल कँडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय विष्णु रिजाल र नगेन्द्र शाही (नेशनल), प्रदेश कमिटी सदस्य जयबहादुर खत्री र जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले प्रशिक्षण दिनुभएको थियो ।
पालिका कमिटी अध्यक्ष विष्णुबहादुर बुढाको अध्यक्षता आयोजित कार्यक्रममा माओवादी र कांग्रेस छाडेर पार्टी प्रवेश गर्नेहरूलाई कँडेलले स्वागत गर्नुभएको थियो ।