detail-img

एमाले सिध्याउँछौं भन्नेहरूलाई जनताले भित्तामा पुर्याएः पोखरेल 

रौतहट । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई सिध्याउँछौं भनेर लागेकाहरूलाई नै जनताले भित्तामा पुर्याइदिएको वताउनुभएको छ । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालप्रति लक्षित गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले कम्युनिष्ट आन्दोलनलाई क्षति पुर्याउने गरी पार्टी विभाजन गर्ने र एमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्याइदिएको बताउनुभयो । 
पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको माया र स्नेहले नै नेकपा (एमाले) समानुपातिक मतमा पहिलो भएको वताउनुयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको बताउनुभयो । मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरूका समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको उहाँले प्रष्ट पार्नुभयो ।

 
कार्यक्रममा पार्टीका सचिव रघुवीर महासेठले नेकपा (एमाले) सालको रुखजस्तो बलियो रहेकोे बताउँदै मिसन ग्रासरुटमार्फत झन् बलियो बन्ने धारणा व्यक्त गर्नुभयो । 
जनताको पार्टी भनेकै एमाले रहेको चर्चा गर्दै उहाँले एमालेको नीति, विचार, सिद्धान्त र जनजीविकासँगको निकटताका कारण मधेशमा एमाले पहिलो बन्न सफल भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्यद्वय अच्युत मैनाली र पुरुषोत्तम पौडेलले मिसन ग्रासरुटको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
नेकपा (एमाले) रौतहट जिल्ला कमिटीका संयोजक सचितान्नद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उद्धब प्रसाद रेग्मी, मधेश प्रदेश उपसचिव आरती भण्डारी, नेता अजय गुप्ता, मधेश प्रदेशका महिला तथा बालबालिकामन्त्री जैद राजा, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय थारुलगायतको उपस्थिति थियो ।