detail-img

‘राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीबाट एमालेलाई धोका’ 

मुगु ।  नेकपा (एमाले) का सचिव एवं मिसन ग्रासरुटका लागि कर्णाली प्रदेशका संयोजक योगेश भट्टराईको प्रमुख आतिथ्यमा नेकपा (एमाले) जिल्ला कमिटी मुगुको आयोजनामा मिसन ग्रासरुटको मध्यावधि समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा  जिल्लाका चार वटै पालिका कमिटीबाट रिपोर्ट प्रस्तुत गरिएको थियो । अभियान आधारभूत तहसम्म प्रभावकारी रूपले सञ्चालन भइरहेको र बाँकी दिनमा सदस्यता नवीकरण र वडा, टोल तथा प्रारम्भिक कमिटीहरूको गठन र पुनर्गठनमा जोड दिने निर्णय गरिएको छ ।  
अभियानका क्रममा बिभिन्न राजनीतिक दलबाट उल्लेख्य सङ्ख्यामा नेकपा (एमाले) मा प्रवेश भएको छ ।  
भौगोलिक रूपमा अत्यन्तै कठिन र बिकट ठाउँमा पनि उत्साहजनक रूपमा अभियान सञ्चालन भइरहेको जनाउँदै मिसन ग्रासरुटका कर्णाली प्रदेशका संयोजक तथा पार्टीका सचिव भट्टराईले मिसन ग्रासरुटमा क्रियाशील कमरेडहरुमा हार्दिक धन्यवाद दिनुभएको छ ।बैठकमा पार्टीका स्थायी कमिटी सदस्यहरू गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फेको पनि उपस्थिति रहेको थियो । 

यसैबीच, नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई धोका दिएको बताउनुभएको छ । 
नेपाल पत्रकार महासंघ मुगुले मङ्गलबार आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति नेकपा (एमाले) लाई दिने सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले धोका दिएको स्पष्ट गर्नुभयो ।
पार्टीको मिसन ग्रासरुट अन्तर्गतका कार्यक्रममा सहभागी हुन मुगु पुग्नुभएका भट्टराईले गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा नेकपा (एमाले) ले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहनुभएका प्रचण्डले त्यो सहमति लत्याएर एमालेलाई धोका दिएको बताउनुभयो ।
तत्कालीन सत्ता साझेदार सात दलहरूबीच नेकपा (एमाले) ले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको वताउँदै सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्याउनुभयो । गायिका एलिना चौहानको ‘धोके बाज हौ तिमी, धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उहाँको भनाइ छ ।