detail-img

वर्तमान गठबन्धन सलहभन्दा हानिकारकः अध्यक्ष ओली

बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताकार्यकर्ताले आफ्नो व्यवहार र आचरण असल बनाउनुपर्ने वताउनुभएको छ । 
पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत आज रुपन्देहीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले जनताले भाषण, विचार सुन्ने भन्दा व्यवहार र आचरण हेर्ने भन्दै जनताको मन जित्ने गरी जनतामैत्री असल ब्यवहार र आचरण देखाउन निर्देशन दिनुभयो ।
उहाँले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब भए पनि कार्यकर्ताहरू असल रहेकाले दुबै पार्टीका कार्यकर्तालाई पार्टीमा भित्र्याउनुपर्ने बताउनुभयो ।
‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयो –तर कार्यकर्ताहरू असल छन्, उनीहरूलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।


अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरूलाई सिध्याउन लागिपरेको तर ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको वताउनुभयो । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउनेदेखि पार्टी विभाजनमा लागेको उहाँले बताउनुभयो ।
मिसन ग्रासरुटको ध्येय र उद्देश्य अर्को चुनावसम्म वडा तहसम्म नेकपा (एमाले) को पक्षमा ५१ प्रतिशत मत पुर्याई एकल वहुमत ल्याउने रहेको उहाँले बताउनुभयो । १० दलको गठबन्धन सलह भन्दा बढ्ता हानिकारक रहेको र यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने अध्यक्ष ओलीको भनाई छ । 
उहाँले स्थिरता र स्थायित्वविना देश विकास र समृद्ध हुन नसक्ने भन्दै एमालेको वहुमतको सरकार बनाउने अठोट र सङ्कल्पसहित अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले अहिलेको सरकार १० वटा टाला जोडेर बनेको भिजनविहीन भन्दै यस्ताले देश कसरी बनाउँछन् भन्ने प्रश्न गर्नुभयो । ‘यो सरकार कस्को नीतिमा चलेको छ, कांग्रेसको नीतिमा कि माओवादीको नीतिमा ?’ उहाँले भन्नुभयो– कि खानका लागि मात्रै हो ?
रुपन्देहीमा गत निर्वाचनमा जति भोट ल्याउनुपर्ने हो ल्याउन नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो– सबै वडामा ५१ प्रतिशत भोट एमालेको पक्षमा बनाऔं, बहुमत नआउनुपर्ने कुनै कारण छैन । सबै क्षेत्रमा एमालेका नीति, निर्णय काम अरु दलको तुलनामा धेरै अब्बल छन् । बालबालिका, युवादेखि बृद्धबृद्धासम्मलाई एमालेले सम्बोधन गरेको छ । एमाले सरकारमा हुँदा युवा देश बाहिर जाने दर १८ प्रतिशतले घटेको र कृषि उत्पादन आठ प्रतिशतले बढेको थियो । २० वर्षमा नभएका काम एमाले सरकारका पालामा साढे तीन वर्षमा भएका थिए, एमालेले गरेका काम आफु बसेको ठाउंमै उभिएर हेरे देखिन्छ, डाँडा चढ्न पर्दैन ।’

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्यहरू लिला गिरी र दधिराम न्यौपानेले प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।
नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश  र जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।