detail-img

मुलुकको समृद्धि एमालेबाट मात्र सम्भवः पोखरेल 

महोत्तरी । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव हुने बताउनुभएको  छ । 
पार्टीको ‘मिसन ग्रासरुट’ अन्तर्गत बुधबार महोत्तरीको जलेश्वरमा आयोजित अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी नेकपा (एमाले) मात्र भएको बताउनुभयो ।
नेकपा (एमाले) ले विगतमा सरकारको नेतृत्व सम्हाल्दा मधेशमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक, हुलाकी सडक, रेल सञ्चालनका लागि पूर्वाधार निर्माणमात्र नभएर किसानका खेतखेतमा पानी पुर्याउन सुनकोशी मरिन डाइभर्सनको काम थालेको बरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । मधेशको विकासका लागि एमाले नेतृत्वको सरकारले थालेका काम पूरा गर्न फेरि सरकारको नेतृत्वमा एमाले नै  आउनुपर्ने धारणा उहाँले राख्नुभयो ।


वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले आफ्नो दलको प्राथमिकता सरकारमा जाने नरहेको स्पष्ट पार्दै आउने निर्वाचनमा आवश्यक बहुमत ल्याउने गरी पार्टीका कार्यकर्तालाई एकताबद्ध रुपमा परिचालन गर्ने र आम जनतासँगको सम्बन्ध सुमधुर बनाउने विषय प्राथमिकतामा रहेकाले सोही बमोजिम परिचालित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।  पार्टीको जारी ‘मिसन ग्रासरुट’ अभियानकै क्रममा सांगठानिक काम व्यवस्थित गरेर अघि बढ्न पोखरेलले कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा मधेश प्रदेश इञ्चार्ज रघुवीर महासेठले मधेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा अहिले पनि नेकपा (एमाले) पहिलो रहेको उल्लेख गर्दै आउने निर्वाचनमा भने स्पष्ट बहुमतसहितको बन्ने विश्वास व्यक्त गर्नुभयो । 
नेकपा (एमाले) महोत्तरी जिल्लाका अध्यक्ष कालीचन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्यद्वय जुलीकुमारी महतो र रामदयाल मण्डलले ‘मिसन ग्रासरुट’बारे बोल्नुभएको थियो ।