detail-img

‘मिसन ग्रासरुटमा नलाग्ने नेताकार्यकर्तालाई पदमा बस्ने नैतिकता रहन्न’ 

श्रीनगर (हुम्ला) ।  नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले नेकपा माओवादी केन्द्र पार्टी नभएर आन्दोलन भएको वताउनुभएको छ । 
नेकपा (एमाले) ले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा बिस्तार अभियान ‘मिसन ग्रासरुट’ कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आचार्यले यस्तो धारणा राख्नुभएको हो ।  
अदानचुली गाउँ कमिटीले आयोजना गरेको संयुक्त बैठकलाई सम्वोधन गर्दै केन्द्रीय निर्वाचन विभागका उपप्रमुख समेत रहेको आचार्यले आन्दोलनलाई पार्टीका रूपमा सोचेकै कारण माओवादीको जनमत निरन्तर ओरालो लागेको विष्लेषण सुनाउनुभयो ।  
निश्चित समय र एजेण्डाका आधारमा आन्दोलनको आवश्यकता घट्दै जाने वताउँदै आचार्यले माओवादीलाई पार्टी मानेर अघि बढे देश ठूलो दुर्घटनामा पर्ने विचार व्यक्त गर्नुभयो । 
माओवादी कम्युनिस्ट पार्टी हो भन्ने भ्रममा चिर्नुपर्ने र हिमाली क्षेत्रका नागरिक भ्रममुक्त हुनुपर्ने वताउनुभयो । 
पार्टीले सञ्चालन गरिरहेका मिसन ग्रासरुटमा पार्टीका सबै नेताकार्यकर्ता सक्रियतापूर्वक लाग्नुपर्ने र अभियानमा नजुट्ने कुनै पनि नेताकार्यकर्ताले पार्टीको जिम्मेवारीमा बस्ने नैतिक आधार गुमाउने वताउनुभयो ।  
अदानचुलीको केन्द्र श्रीनगरमा आयोजित पहिलो चरणको समीक्षा बैठकमा पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य पूर्ण ढकाल, धञ्जे परियार, जिल्ला कमिटीका उपसचिव चन्द्रप्रकाश ढकालले अभियानको महत्व र यसले पार्टीको आन्तरिक जीवनमा ल्याउने प्रभावका बारेमा बोल्नुभएको थियो । बैठक नेकपा (एमाले) अदानचुली गाउँ कमिटीका अध्यक्ष बुधे भण्डारीको अध्यक्षतामा भएको थियो ।

 
यसैबीच कालीकोटको पलाँताको थिर्पुमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य आचार्यले पार्टीका सबै कमिटीहरूलाई थप परिचालित गर्न मिसन ग्रासरुट सञ्चालन गरिएको वताउनुभयो ।  
पार्टीको आन्तरिक जीवनमा समस्या छन् भने पहिचान गरी समाधान गर्ने र देशको बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ मिसन ग्रासरुट सञ्चालन गरिएको उहाँको भनाई छ । 
कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकाका अगुवा कार्यकर्ताहरूको उपस्थित रहेको बैठकलाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सदस्य दल रावलले नेपालका राजनीतिक दलहरूमध्ये सबैभन्दा छोटो आयु भएको पार्टी माओवादी भएकाले त्यसको क्षणिक भ्रममा नपर्न कालीकोटवासीलाई आग्रह गर्नुभयोे । 
नितान्त व्यक्तिगत स्वार्थ र अपरिपक्व योजनाका आधारमा माओवादी नेतृत्व चलेकाले देशमा कम्युनिस्ट पार्टीहरूबीच एकता टिक्न नसकेको उल्लेख गर्दै नेता रावलले अबका हरेक निर्वाचनमा एमाले एक्कै पहिलो शक्ति बन्नेमा कसैले रोक्न नसक्ने वताउनुभयो ।  
नेकपा (एमाले) पलाँता गाउँ कमिटीका अध्यक्ष हर्ष वमको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्यद्वय निरज आचार्य, दल रावल, कर्णाली प्रदेश कमिटी सदस्य पूर्ण प्रसाद ढकाल, कर्णाली प्रदेश प्रचार विभागका उपप्रमुख नवराज महतारालगायत पलाँता, पचालझरनाका गाउँ कमिटी, वडा कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।