detail-img

हिमाली जिल्ला सोलुखुम्बुमा मिसन ग्रासरुटको करिव ७५ प्रतिशत काम सम्पन्न 

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत निर्धारित कामहरू करिव ७५ प्रतिशत सकिएका छन् । 
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन ५ गते भर्चुअल सम्बोधन गरी देशभर एकैचोटी अभियानको शुभारम्भ गर्नुभएपछि पार्टीका केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठ र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थितिमा सोलुखुम्बुमा फागुन ७ गते जिल्ला कमिटीको बैठक बसी योजना बनाएको थियो । 
सोही योजना अनुसार सोलुखुम्बुका आठवटै पालिका, वडा र टोल कमिटीका बैठकहरू सम्पन्न भएको केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठले वताउनुभयो । श्रेष्ठका अनुसार लिखुपिके गाउँपालिकामा फागुन ११ गते, दूधकुण्ड नगरपालिकामा फागुन २३ गते, माप्य दूधकोशी गाउँपालिकामा फागुन २६ गते र खुम्बु पासाङ गाउँपालिकाको योजना बैठक फागुन २९ गते सम्पन्न भएको छ । यी पालिकामा केन्द्रीय सदस्य श्रेष्ठ मिसन ग्रासरुटको केन्द्रीय प्रतिनिधिका रुपमा खटिनुभएको छ । 
त्यसैगरी, थुलुङ दूधकौशिका गाउँपालिकामा फागुन १६ गते, सोताङमा फागुन १७ गते, महाकुलुङमा फागुन १८ गते र नेचा सल्यान गाउँपालिकामा फागुन २० गते केन्द्रीय प्रतिनिधिका रुपमा खटिनुभएका कोशी प्रदेश कमिटीका उपसचिव शैलेस लामाको उपस्थितिमा योजना बैठक सम्पन्न भएको केन्द्रीय सदस्य श्रेष्ठले वताउनुभयो । 
सबैजसो बैठकमा प्रशिक्षण पनि चलाइएको उहाँले बताउनुभयो । यसबीचमा जनसंगठनका बैठकहरू र भेलाहरू पनि सम्पन्न भएका छन् । चैत ११ गते जिल्लास्तरमा मध्यावधि समीक्षा बैठक बसेको छ । बैठकमा प्रमुख अतिथिका रुपमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम र प्रदेश कमिटीका अध्यक्ष तुल्सी न्यौपानेको उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य श्रेष्ठका अनुसार सोलुखुम्बुमा चैत २४ देखि ३० गतेसम्म विषयगत प्रशिक्षण सञ्चालन गरिने भएको छ ।