detail-img

हरेक टोलमा पार्टी कमिटी बन्ने छन्ः उपाध्यक्ष पौडेल 

धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको पार्टी कमिटी नरहेको कुनै टोल नहुने बताउनुभएको छ । 
उपाध्यक्ष पौडेलले बिहीबार कञ्चनपुरमा नेकपा (एमाले) को जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामा बोल्दै मिसन ग्रासरुटले जनतालाई कार्यकर्ता र कार्यकर्तालाई नेतासँग जोड्न मिसन ग्रासरुट सञ्चालन गरिएकाले हरेक टोलमा एमालेको कमिटी बन्ने बताउनुभयो ।
उहाँले मिसन ग्रासरुटका कार्यक्रम चैत २५ गतेभित्र पालिकास्तर र २५ देखि ३० गतेसम्म जिल्लास्तरका सकेर त्यसपछि प्रदेश स्तरमा समीक्षा गर्न निर्देशन दिनुभयो ।

 
पार्टीका सचिव लेखराज भट्टले पार्टीभित्र संगठन सुदृढीकरण र रूपान्तरण आवश्यक देखिएकाले मिसन ग्रासरुट सुरु गरिएको बताउनुभयो । उहाँले अभियानका क्रममा जनजीविकासँग जोडिएका विषयमा जनताका सुझाव पनि सङ्कलन गर्नुपर्ने बताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य कर्ण थापाले मिसन ग्रासरुटले पार्टीभित्र छुट्टै ऊर्जा थपिएको बताउनुभयो । 
पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले कञ्चनपुर जिल्लामा निर्वाचन परिणामको पनि समीक्षा हुनुपर्ने बताउनुभयो । प्रशिक्षणमा मिसन ग्रासरुटमा कञ्चनपुरका विभिन्न स्थानीय तहमा खटिनुभएका पोलिटव्यूरो सदस्य लिला भण्डारी, केन्द्रीय सदस्य झपट रावल, सहदेव बोगटी र पवित्रा तिमिल्सिनाले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो  ।