detail-img

स्याङ्जाको पुतलीबजारमा वडा भेला तथा अभिमुखीकरण 

स्याङ्जा । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १, २ र १३ मा वडा भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी पोलिटव्यूरो सदस्य लिलबहादुर थापा मगरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य मगरले मिसन ग्रासरुटले पार्टीमा छुट्टै ऊर्जा पैदा गरेकाले आगामी निर्वाचनमा नेकपा (एमाले) ले केन्द्र, प्रदेश र स्थानीय तहमा एकल बहुमतको सरकार बनाउने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा गण्डकी प्रदेश उपसचिव रश्मि आचार्यले नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताउनुहुँदै सिद्धान्त, संगठन र सङ्घर्षमा एमालेको श्रेष्ठता स्थापित भएको धारणा राख्नुभयो । कार्यक्रममा अभियानका लागि विभिन्न योजनाहरू निर्माणसमेत गरिएको छ । 
कास्कीको अन्नपूर्ण–७ मा अभिमुखीकरण 
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ तोल्कामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएकी पार्टी केन्द्रीय सदस्य कल्पना चापागाईको उपस्थिति र वडा कमिटी अध्यक्ष दुर्गाबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रमले विभिन्न योजनाहरूसमेत निर्माण गरेको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चापागाईले सक्षम र क्रियाशील कार्यकर्ता निर्माण गर्दै जनताको साथमा बलियो पार्टी निर्माण गर्न मिसन ग्रासरूट सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा वडाका  अग्रज नेता नारायण त्रिपाठीलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य लिलाधर पौडेल, प्रदेश कमिटी सचिवालय सदस्य दीपक पौडेल लगायतका नेता कार्यकताहरूको उपस्थिति थियो ।
गोरखामा पाँचजना ज्येष्ठ कम्युनिष्टको सम्मान 
 गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० मा वडास्तरीय प्रशिक्षण तथा वडा भेला कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य किशोर बिक्रम मल्लको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा प्रदेश सचिवालय सदस्य सुरेन्द्र थापा, प्रदेश कमिटी सदस्य रामप्रसाद शर्मा, जिल्ला कमिटी सदस्यहरु तिर्थ नेपाली, सन्तबहादुर नेपाली, सविता बराम लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।


कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट ८४ बर्षीय गङ्गाबहादुर कार्की, ७६ वर्षीय पुष्पलाल लामिछाने, ७६ बर्षीय बुद्धिबहादुर श्रेष्ठ, ७२ वर्षीय रेशमबहादुर रोका र ७२ बर्षीय डण्डबहादुर रोकालाई सम्मान गरिएको थियो । 
भेलाले आठवटा टोल कमिटी गठन गरी पार्टी सदस्यता नवीकरण गर्ने, बैठक राख्ने र वडास्तरीय जनसङ्गठन गठन गरी प्रशिक्षण गर्ने कार्ययोजना बनाएको छ । भेलाले गङ्गाबहादुर कार्कीको अध्यक्षतामा पाँच सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च, बलराम लामिछानेको अध्यक्षतामा सात सदस्यीय किसान महासंघ र खिलकुमारी श्रेष्ठको अध्यक्षतामा अखिल नेपाल महिला संघ समेत गठन गरेको छ ।
यसैबीच, केन्द्रीय सदस्य मल्लकै प्रमुख आतिथ्यतामा गोरखाकै आरूघाटमा प्रदेश, जिल्ला, पालिका तथा स्थानीयस्तरका पदाधिकारीहरूको संयुक्त बैठक पनि सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरूट अभियानको उदेश्यअनुरूप काम गर्ने गरी प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य र पालिका पदाधिकारीको जिम्मेवारी बिभाजन गरेको छ ।