detail-img

सुदूरपश्चिममा जिफण्टको प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न 

धनगढी । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज गणेश सिंह ठगुन्नाले मजदुरका मुद्दा एमालेले मात्र बोकेको बताउनुभएको छ । 
नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत शनिबार धनगढीमा आयोजित नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) को सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै मजदुर आन्दोलन एमालेका लागि महत्वपूर्ण रहेको बताउनुभयो । 
जनताको वास्तविक सरकार एमालेको नेतृत्वमा मात्र सम्भव रहेकाले आगामी निर्वाचन मार्फत एकल बहुमतको सरकार बनाउने उद्देश्यका साथ मिसन ग्रासरुट सुरु भएको बताउनुभयो । 
नेकपा (एमाले) ले सरकारमा रहँदा देशको विकास, राष्ट्रियता, सार्वभौम अखण्डता, सामाजिक न्याय लगायत जनताका पक्षमा धेरै महत्वपूर्ण काम गरेकाले पार्टीका नेताकार्यकर्ताहरूले ती कामहरू जनतालाई बताउन सक्नुपर्ने पोलिटव्यूरो सदस्य ठगुन्नाले बताउनुभयो । उहाँले एमालेकै नीतिका कारण मुलुकको ३० लाख ६० हजार जनसङ्ख्याले सामाजिक सुरक्षा भत्ता पाइरहेको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले मजदुरका मुद्दामा एमाले बाहेकका दलहरूले कुनै काम नगरेको बताउनुभयो । 
उहाँले महिला मजदुरले पुरुष सरह समान कामको समान ज्याला पाउनुपर्ने माग पनि एमालेले अघि सारेको बताउनुभयो । उहाँले एमालेले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सक्ने भन्दै एमालेको एकल बहुमतको सरकारका लागि आगामी निर्वाचनलाई उपयोग गर्न मिसन ग्रासरुट सुरु गरिएको बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय निर्वाचन विभाग सदस्य रणबहादुर चन्द, कैलाली जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले पनि बोल्नुभएको थियो । कार्यक्रम जिफण्टका प्रदेश अध्यक्ष जीतबहादुर मल्लको अध्यक्षतामा भएको थियो ।