detail-img

पार्टीमा सकारात्मक रक्तसञ्चारः अर्याल 

म्याग्दी । नेकपा (एमाले) की सचिव पद्माकुमारी अर्यालले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) ले पार्टीभित्र सकारात्मक रक्तसञ्चार गरेको बताउनुभएको छ । 
मिसन ग्रासरूट अन्तर्गत म्याग्दी जिल्लामा भएका गतिविधिहरूको अनुगमन गर्ने क्रममा उहाँले पार्टी सुदृढीकरणका लागि अभियान फलदायी बनेको बताउनुभयो ।
अभियानले पार्टीलाई थप उत्साहित, जुझारु र सशक्त बनाएको बताउँदै उहाँले पार्टी संगठनहरूको काम निकै माथि उठेको धारणा व्यक्त गर्नुभयो । अनुगमनका क्रममा उहाँले अहिलेसम्म भएका कामको प्रगति विवरण लिनुभएको छ । साथै बाँकी रहेका कार्यक्रमहरू समय अवधिभित्रै सक्न पनि निर्देशन दिनुभएको छ ।
त्यसक्रममा उहाँले नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका स्थानीय ध्रुब महतलाई पार्टीमा स्वागत गर्नुभयो ।

यसैगरी, नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. ३ मा वडा कमिटी बैठक तथा वडा नं १,२,४,५,६,७,८ र ९ को पदाधिकारीहरू र अभियन्ताहरूको संयुक्त बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकले हालसम्मको कामको समीक्षा गर्दै बाँकी कार्ययोजना पनि बनाएको छ ।
गोरखामा भेला, प्रशिक्षण तथा सम्मान
गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ थुमीमा वडास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य किशोरविक्रम मल्लको उपस्थिति र कमिटीका अध्यक्ष विशाल लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा प्रदेश सचिवालय सदस्य सुरेन्द्र थापा, प्रदेश सदस्य भिम धमला, रामप्रसाद शर्मा, प्रदेश सल्लाहकार सदस्य तेजबहादुर धमला लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो । 
भेलाले सदस्यता नवीकरण गर्ने, टोल कमिटीको बैठक गर्ने र वडातहमा जनसङ्गठन गठन गर्ने निर्णय गरेको छ । कार्यक्रममा ज्येष्ठ कम्युनिष्ट कार्यकर्ता ८२ वर्षीय गजबहादुर आले, ७० वर्षीय टीकाप्रसाद लामिछाने, ७२ वर्षीय खजुरी नेपाली र ७० वर्षीय तेजबहादुर थापालाई सम्मान गरिएको थियो ।