detail-img

‘चितवन–२ का जनताले विगतको मतदानमा करेक्शन गर्नुपर्छ’ 

चितवन । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सुरक्षाका लागि एमाले सरकारले जत्तिको काम कुनै पनि सरकारले गर्न नसकेको बताउनुभएको छ  ।
चितवन निर्वाचन क्षेत्र नंं २ अन्तर्गत कालिका नगर कमिटीले बुधबार  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले मनमोहन अधिकारी नेतृत्वको सरकार र केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको सामाजिक सुरक्षा, विकास र समृृद्धिलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । 
वृद्धवृद्धालाई कम्युनिष्टको सरकार आएपछि मार्छ भन्ने कांग्रेसले मच्चाएको भ्रमलाई एमालेको सरकारले महिनाको सय रुपैयाँ बृद्धभत्ता दिएर ज्येष्ठ नागरिकप्रति एमालेको दृष्टिकोण प्रस्ट पारेको उहाँले वताउनुभयो । 
नेकपा (एमाले) ले संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको ग्यारेन्टी गराएको स्मरण गर्दै २०५४ सालको स्थानीय तहको निर्वाचनमार्फत महिलाको सहभागिता बढाउन सुरु गरिएको नेता बास्कोटाले बताउनुभयो । 
पछाडि पारिएका महिलालाई राजनीतिक र सामाजिक रूपमा अग्रसर, सहभागी र नेतृत्व गर्ने तहमा एमालेले नै पुर्याएको चर्चा गर्दै बाँस्कोटाले भन्नुभयो– घाँस काट्ने महिला, दूध दुहुने महिला, दूध बेच्ने पुरुष यस्तो अवस्थामा परिवर्तन त एमालेले नै ल्याएको हो ।
उहाँले दुर्गम भेगमा सुत्केरी हुन नसकेर ज्यान गुमाउने महिलाहरूको उद्धार र उपचारको व्यवस्थाको सुरुवात एमाले सरकारले नै गरेको बताउनुभयो । विगतमा केही नयाँलाई हेरौं न भनेर जनताले मत दिएको भए पनि यसपटक त्यसलाई करेक्शन गर्नुपर्ने वताउनुभयो ।