detail-img

समृद्धिका लागि पनि खेल आवश्यक छः अध्यक्ष ओली

लुम्बिनी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले राजनीतिकर्मीलाई असल राजनीतिक संस्कार समेत सिकाउने बताउनुभएको छ । 
उहाँले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने मात्र नभई राजनीतिक संस्कार सिकाउन पनि खेलकुद महत्वपूर्ण मानिने बताउनुभयो ।
बिहीबार लुम्बिनीमा आयोजित मदन भण्डारी स्पोटर्स एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिष्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहन्छ ।” खेलकुदलाई बृहत रूपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयनमा लैजान उहाँले आग्रह गर्नुभयो ।


“खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिष्पर्धी बनाउँछ । प्रतिष्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउँछ,” अध्यक्ष ओलीले भन्नुभयो, “यसैले खेल व्यक्ति–व्यक्तिले खेल्न र स्वस्थ प्रतिष्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।” उहाँले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको बताउँदै अब समृद्धिका लागि पनि खेल आवश्यक रहेको बताउनुभयो । “खेल प्रतिष्पर्धाहरू बढाउनुपर्छ । खेलेर पनि समृद्ध बन्न सकिन्छ भन्ने बनाउनुपर्छ,” अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले खेलसम्बद्ध संस्थाहरूले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताउनुभयो । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोट्र्स एकेडेमीबाट भएको बताउँदै यसलाई अझ विस्तार गर्न उहाँले सुझाव दिनुभयो । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको बताउँदै खेल सम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने उहाँले बताउनुभयो ।
पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधै प्राथमिकता दिएको बताउनुभयो । सुरु भएका खेल पूर्वाधारहरू सकिँदा धेरै खेलाडीलाई खेलअभ्यास र प्रतिष्पर्धामा सहज हुँदै जाने उहाँले बताउनुभयो । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिष्पर्धालाई अगाडि बढाएको बताउनुभयो । देशका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउँदै उहाँले आउँदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा विस्तार गरी काम थाल्ने बताउनुभयो ।