detail-img

एमाले लोकप्रिय र बलियो रहेका कारण यसविरूद्ध चौतर्फी आक्रमणः भट्ट

धनगढी । नेकपा (एमाले) का सचिव तथा सुदूरपशिचम प्रदेश इञ्चार्ज लेखराज भट्टले एमाले जनताका बीचमा बलियो र लोकप्रिय शक्ति रहेका कारण यसमाथि चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।
शुक्रबार धनगढीमा मिसन ग्रासरुटको धनगढी उपमहानगरपालिका स्तरीय समीक्षा कार्यक्रममा बोल्दै सचिव भट्टले राष्ट्रियता र जनताका मुद्दामा केन्द्रित भएर लागेका कारण एमालेबिरुद्ध देशभित्र र बाहिरका शक्तिहरू आक्रमणमा उत्रिएको बताउनुभएको हो । 
उहाँले आगामी निर्वाचनमा पार्टीको एकल बहुमतको सरकार निर्माण गर्न जनस्तरमा पार्टीलाई थप बलियो बनाउन केन्द्रीय कमिटीले मिसन ग्रासरुट कार्यक्रम सुरु गरेको बताउनुभयो । 
मिसन ग्रासरुटले केन्द्रदेखि वडासम्म पार्टीका नेता तथा कार्यकर्तामा उत्साह ल्याएको बताउँदै सचिव भट्टले जनतासँगको सम्पर्क नियमित बनाउन सकेमात्रै पार्टीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने बताउनुभयो । 
समीक्षा कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज गणेश सिंह ठगुन्नाले हरेक वडामा जनसङ्ख्याको कम्तीमा १० प्रतिशत मानिसलाई एमालेमा संगठित गर्न सक्नुपर्ने बताउनुभयो । 
उहाँले पार्टीबाट विभिन्न तहका निर्वाचित जनप्रतिनिधिले पार्टी सदस्य बढाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने लक्ष्य लिएका कारण हरेक तहबाट ५१ प्रतिशत भोट पार्टीमा ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । 
पार्टीका सुदूरपशिचम प्रदेश कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेका नेता र कार्यकर्ताका लागि हरेक निर्वाचन विशेष हुनुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा पार्टीको कैलाली जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले एमालेले संगठनको शक्तिको बलमा नै निर्वाचनमा सहभागी हुने लक्ष्य लिएकाले सो अनुसार सबैले जुट्नुपर्ने बताउनुभयो । 
धनगढी उपमहानगरपालिका कमिटीका अध्यक्ष रामचन्द जोशीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा धनगढी उपमहानगरपालिकामा पार्टी निर्माणका महत्वपूर्ण भूमिका निर्वाह गरेका र मिसन ग्रासरुटमा खटिएका प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरूलाई सम्मान गरिएको थियो ।