detail-img

व्यवसायीका समस्याका बारेमा अन्तर्क्रिया 

बाग्लुङ । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत बाग्लुङका व्यवसायीहरूका समस्या र आर्थिक सङ्कटलगायत विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । नेकपा (एमाले) की सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्य र जिल्ला कमिटी अध्यक्ष हिरा केसीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव अर्यालले व्यवसायीका समस्याका विषयमा नेकपा (एमाले) जानकार रहेको बताउँदै दश दलीय गठबन्धन सरकारले देशको अर्थतन्त्र सङ्कटमा पारेको बताउनुभयो । 
अर्थतन्त्र सङ्कटमा पर्दा व्यवसायीहरूमा चरम निराशा छाएको भन्दै उहाँले व्यवसायीको हकहितका लागि नेकपा (एमाले) सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का पोलिटब्युरो सदस्य जगत विश्वकर्माले एमाले व्यवसायीको पक्षमा सदैव उभिने पार्टी रहेको बताउँदै वर्तमान सरकारले सत्ता स्वार्थका कारण व्यवसायीहरूको दमन गरिरहेको विचार व्यक्त गर्नुभयो । 
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष हिरा केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको सदस्यमा निर्वाचित दयाराम पौडेललाई सम्मान गरिएको थियो ।