detail-img

तराई मधेशमा विकासको जग राख्ने एमालेलाई विजयी बनाउन महासचिवको आग्रह

बारा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराई मधेशको विकासको जग राख्ने काम नेकपा (एमाले) को सरकारले गरेको वताउँदै बारा निर्वाचन क्षेत्र नं. २ मा आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन आग्रह गर्नुभएको छ । 
बारा निर्वाचन क्षेत्र नंं.२ को चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै महासचिव पोखरेलले तराई मधेशका धेरै नेता पटक पटक मन्त्री हुँदा काठमाडौंमा उहाँहरूका महल बने तर तराई मधेशको अवस्था जस्ताको तस्तै रहेको विगत स्मरण गर्न पनि मतदातालाई आग्रह गर्नुभयो । 
महोत्तरीका एकजना नेता १६ पटक मन्त्री हुँदा महोत्तरीको हालत अहिले पनि कस्तो छ हेर्न आग्रह गर्दै महासचिव पोखरेलले राजनीति भनेको मन्त्री बन्ने खेल होइन भन्नुभयो ।


जतिबेलासम्म नेकपा (एमाले) राष्ट्रको नेतृत्व गर्ने ठाउँमा आएन, त्यतिबेलासम्म तराई मधेशको हालत के थियो ? तराई मधेशका सदरमुकामको हालत के थियो ? बाटाघाटाको हालत के थियो ? आफै सम्झना गर्न मतदातालाई आग्रह गर्दै महासचिव पोखरेले तराई मधेशको विकासको श्रेय नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने वताउनुभयो । 
महासचिव पोखरेलले भारतीय ठेकेदारले दशबर्षसम्म लथालिङ्ग बनाएको हुलाकी राजमार्ग एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको समयमा १३ अर्ब रुपियाँ बजेट छु्ट्याई नेपाल आफैले निर्माणको काम अगाडि बढाएको वताउनुभयो ।
गत निर्वाचनमा जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेर एमालेले जसपाको रक्षा गरी दिएको वताउँदै उहाँले भन्नुभयो– यसपटकको उपनिर्वाचनमा बारा–२ मा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य हो, उपेन्द्र यादवजी बारा आउनुहुँदैनथ्यो । एमालेलाई सहयोग गर्ने कुराबाट भाग्न हुँदैनथ्यो ।  
महासचिव पोखरेलले उपेन्द्रजी कहिले मोरङलाई आफ्नो भन्नुहुन्छ, कहिले सुनसरी त कहिले सप्तरी, अहिले बारा–२ मा आउनुभएको छ, उहाँका लागि कहीँ पनि आफ्नो होइन, भ्रममा नपर्न म मतदातालाई आग्रह गर्न चाहन्छु भन्नुभयो । 
गत निर्वाचनमा जसपासँग तालमेल गर्दा उपेन्द्रजीलाई सप्तरी–२ मा उम्मेदवार नबन्नुस्, अन्य निर्वाचन क्षेत्रबाट लड्नुस् भन्दा नमानेका कारण पराजित भएको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– पराजित भएको व्यक्ति पाँचबर्ष जनताको सेवा गरेर बस्नुपर्नेमा बर्षदिन नपुग्दै उपनिर्वाचनमा उम्मेदवार हुनु भएको छ, एउटा नेताले गर्ने काम होइन यो । 
गत निर्वाचनमा जसपासँग मित्रवत प्रतिस्पर्धा गरेका ठाउँहरूमा एमाले विजयी भएको र तराई मधेशका जनताले ओरालो लागेको जसपालाई होइन, एमालेलाई रोजेकोे तथ्य प्रस्तुत गर्दै महासचिव पोखरेलले बारा–२ को उपनिर्वाचनमा पनि यहाँका जनताले सूर्यचिन्हमा मतदान गरी  बाराका जनताको समस्यामा सधै साथ दिने एमालेका चिरपरिचित नेता पुरुषोत्तम पौडेललाई विजय बनाउने विश्वास व्यक्त गर्नुभयो ।