detail-img

अनेमसंघ श्रेष्ठ संगठन बन्न सकोस्ः अध्यक्ष ओली 

काठमाडौैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल महिला संघको आजदेखि राजधानीमा सुरु भएको सातौं राष्ट्रिय सम्मेलन भव्य समारोहबीच उद्घाटन गर्नुभयो । 
अध्यक्ष ओलीले विचार, संगठन, आन्दोलन, योगदान, वर्तमान र सुदूर भविष्यका हिसावले श्रेष्ठ संगठन निर्माणमा सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले अनेमसंघको अध्यक्ष देशको पहिलो महिला राष्ट्रपति हुनुभएको र उहाँको सातबर्षको सफल कार्यकालप्रति गर्व गर्नुपर्छ भन्नुभयो । 
उहाँले सम्मेलन आत्मसमीक्षा गर्ने दिन पनि भएको र त्यसका आधारमा भविष्यका निम्ति तयारी गर्ने अवसर भएको वताउनुभयो ।

 
अध्यक्ष ओलीले नेकपा (एमाले) को जनसंगठनका रुपमा रहेको अनेमसंघमा आबद्ध दिदीबहिनीहरूको महत्वपूर्ण योगदानका कारण अहिले पार्टी लोकप्रियताका हिसावले पहिलो र ठूलो हुन सकेको भन्दै दुुनियाँले चक्रव्यूह सिर्जना गरी समाप्त पार्न खोज्दा पार्टी जोगाएकोमा अनेमसंघ र महिला दिदीबहिनीहरूको प्रशंसा गर्नुभयो  । 
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई नेकपा (एमाले) ले आफ्नो गन्तव्य बनाएको हुँदा पार्टी विरुद्धका भ्रम चिर्ने काममा खासगरी महिलालाई सचेत बनाउने काममा अनेमसंघ लाग्नुपर्ने उहाँले वताउनुभयो । 
अध्यक्ष ओलीले अनेमसंघको आगामी नेतृत्व चयन गर्दा नयाँ र पुरानो पुस्ताको सम्मिश्रण गर्ने कुरामा ध्यान दिन सुझाउनुभयो । 
जसरी नेकपा (एमाले) लाई बचाउन र बलियो बनाउन यसका अगाडि महिला दिदीबहिनी हुनुहुन्छ, त्यसैगरी तपाईहरूका पछाडि पनि पहराजस्तो भएर एमाले उभिएको छ भन्नुहुँदै अध्यक्ष ओलीले पार्टीको गन्तव्य प्राप्तिका लागि गतिशील र सक्रिय संगठनको आवश्यकता हुने हुँदा त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अनेमसंघका अग्रज नेतृहरूलाई सम्मान गरिएको थियो । 
सम्मानित हुनेहरूमा स्नेहलता गुरुवाचार्य, शान्ता मानवी, राधा ज्ञवाली, अष्टलक्ष्मी शाक्य, शोभा कुँवर, गोमा देवकोटा र सीता पौडेल हुनुहुन्छ ।
उद्घाटन सत्रमा पार्टीका नेताहरू सचिव पदमा अर्याल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सचिव सुजिता शाक्यले गर्नुभएको थियो । सम्मेलन भोलिसम्म चल्ने छ ।