detail-img

एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धिः अध्यक्ष ओली

नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । 
सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा (एमाले) को प्रमुख उद्देश्य  भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– एमालेले तीनवर्षको अवधिमा आर्थिक विकास र समृद्धिका लागि नमूनायोग्य काम गरेको थियो, वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको  छ । 
अध्यक्ष ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको स्पष्ट गर्नुभयो । 
अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उहाँको  भनाइ छ । 
अध्यक्ष ओलीले भन्नुभयो– यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन । जेसुकै भएपनि, जसरी भएपनि एउटा निकक्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ । यसले देशलाई ओरालो लगाएको छ ।


देशमा अहिले भइरहेका विभिन्न विकृति र विसङ्गतिलाई रोकेर देशलाई ओरालो लाग्नबाट बचाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले) समाजका सबै वर्ग र समुदायको पार्टी वताउँदै  भन्नुभयो– नेकपा (एमाले) लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त युवाको पनि पार्टी हो ।
युवाहरूले इतिहास होइन, भविष्यको कुरा गर्नु र सोच्नुपर्ने उहाँले बताउनुभयो । भविष्यको तयारी, काम, आन्दोलन, सङ्कल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
अध्यक्ष ओलीले राष्ट्र बनाउने सङ्कल्प एमालेसँग मात्रै रहेको भन्दै रोजगारीका लागि युवाहरू विदेश जाने अवस्था अन्त्य हुन आवश्यक भएको बताउनुभयो । 
राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सही विचार र सक्षम नेतृत्वले मात्र संगठनलाई अघि बढाउन सक्ने र नेतृत्व सही भएन भने संगठन गन्तव्यमा नपुग्ने बताउनुभयो । संघलाई सही गन्तव्यमा पुर्याउन महाधिवेशनले सही नेतृत्व छान्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो शक्ति बन्ने र बहुमतको सरकार निर्माण गर्ने बताउनुभयो । 
अहिलेको निर्वाचनमा पनि जनताको लोकप्रिय पार्टी एमाले रहेको पुष्टि भएको चर्चा गर्दै उहाँले एमालेको असाधारण ताकतसँग एक्लै लड्न सबै पार्टी डराएको चर्चा गर्नुभयो ।
यसैगरी, स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले पनि संघको महाधिवेशनलाई सम्बोधन गर्नुभएको छ । 
सम्बोधनका क्रममा संयन्त्रका प्रमुख ढकालले राष्ट्रिय युवा संघ नेपालले निक्कै कठिन परिस्थितिमा देश र जनताको पक्षमा काम गरेको बताउनुभयो । मुलुकलाई ऊर्जा दिने तथा आशा र विश्वास जगाउने काम गरेको बताउँदै संघबाट हुँदै आएका अनेकन रचनात्मक कामहरूको उहाँले प्रशंसा गर्नुभयो । 
यस्तै, पोलिटव्यूरो सदस्य महेश बस्नेतले माओवादीको फाँसीवादी चरित्रविरुद्ध राष्ट्रिय युवा संघ नेपाल आन्दोलित भएर नेपाली नागरिकलाई बचाउन सफल भएको विगत स्मरण गर्नुभयो । माओवादीले मानिसलाई कुट्ने र काट्ने गरिरहँदा युवा संघ नेपालले युथ फोर्स गठन गरेर नागरिकको सुरक्षा गरेको उहाँको भनाइ छ । 
नेकपा (एमाले) का  केन्द्रीय सदस्य निरु पाल, सूर्य ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक वडाल, युवा सङ्घका उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेवे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 
महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागिता रहेको छ ।

माओवादीका नेता कार्यकर्ता एमालेमा
कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री दलबहादुर सुनार लगायत एमालेमा प्रवेश गर्नुभएको छ ।  सो अवसरमा युवा सङ्घले एकलाख नगद राशीको केपी ओली युवा प्रतिभा पुरस्कार नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई प्रदान गरेको छ ।