detail-img

सुदूरपश्चिममा समीक्षा बैठक 

धनगढी । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा बैठक आइतबारदेखि कैलालीको गोदावरीमा सुरु भएको छ । 
नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उप महासचिव पृथ्वी सुब्वा गुरुङ, सचिव लेखराज भट्ट समेतको उपस्थितिमा मिसन ग्रासरुट अन्तर्गत  प्रदेशमा भएका गतिबिधि, सदस्यता नवीकरण, नयाँ सदस्यता बितरण लगायतका बिषयमा समीक्षा भइरहेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । 
दुई दिनसम्म चल्ने समीक्षा बैठकमा आज मिसन ग्रासरुटमा खटिएका केन्द्रीय प्रतिनिधि र जिल्ला अध्यक्षहरूले प्रतिवेदन पेश गर्नुभयो ।  
समीक्षा बैठकको पहिलो दिन पाँच जिल्लाको प्रस्तुति सकिएको छ । अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा र डोटीको प्रस्तुति सकिएको र बाँकी चार जिल्लाको प्रस्तुति दोस्रो दिन सोमबारको बैठकमा हुने प्रदेश कमिटीका सचिव पाठकले बताउनुभयो । 
उहाँका अनुसार दोस्रो दिनको बैठकमा मिसन ग्रासरुटमा अनुगमनका लागि खटिनुभएका स्थायी समिति सदस्यद्वय बिन्दा पाण्डे र कर्ण थापाको अनुगमन प्रतिवेदन पेश हुने कार्यक्रम रहेको छ । 
समीक्षा बैठकको शुरुवातमा बोल्दै पार्टी प्रचार बिभाग प्रमुख समेत रहनुभएका उप महासचिव पृथ्वी सुब्वा गुरुङले मिसन ग्रासरुटमा खटिनुभएका केन्द्रीय प्रतिनिधि र जिल्ला कमिटीका अध्यक्षहरूबाट जिल्लामा पार्टीको अवस्था, सदस्यताको अवस्था, अन्य पार्टीहरूको अवस्था र एमालेले गत निर्वाचनमा पाएको मत र एमालेले आगामी दिनमा गर्नपर्ने काम समेत समेटिएर प्रतिवेदनमा आउने अपेक्षा केन्द्रीय कमिटीले राखेको बताउनुभयो । समीक्षा बैठक प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भइरहेको छ ।