detail-img

सरकार ढाल्ने र बनाउने खेलमा एमाले लाग्दैनः उपमहासचिव रिमाल

धादिङ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताउनुभएको छ । 
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटको जिल्लास्तरमा समापनका लागि धादिङ आउनुभएका उपमहासचिव रिमालले  प्रेस चौतारी, नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा नेकपा (एमाले) जिम्मेवार प्रतिपक्ष बनेर सरकारलाई खबरदारी गर्ने बताउनुभयो । 
देश गम्भीर आर्थिक सङ्कटउन्मुख रहेकाले अर्थतन्त्र सङ्कटमा पर्न नदिनका लागि एमालेले जिम्मेवार भूमिका खेल्ने भनाइ उहाँले राख्नुभयो । वर्तमान गठबन्धन सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित रहेकाले प्रमुख प्रतिपक्षको रूपमा एमालेले खबरदारी जारी राख्ने वताउँदै उपमहासचिव रिमालले देशको हितमा काम गर्नका लागि एमालेको सरकार बन्नुपर्ने धारणा राख्नुभयो । 
उहाँले संसदीय चुुनावमै एमालेले अर्थतन्त्र सुधारका लागि अवधारणा बनाएर सार्वजनिक गरेको स्मरण गर्दै एक वर्षमा देशका सबै परिसूचकहरु सुधार्ने गरी स्थायित्वको प्रयास गरेको भए पनि नेकपा (माओवादी केन्द्र) को अस्थिर निर्णयका कारण सम्भव नभएको उपमहासचिव रिमालको भनाइ छ ।
नेकपा (एमाले) ले सरकारको नेतृत्व गरेर एक वर्षमा आर्थिकसँगै सबै सूचकहरूमा सकारात्मक दिशा दिने अवधारणासहित चुनावमा गएको र चुनावलगत्तै त्यसको प्रयासमा तुलनात्मक रूपमा सानो दललाई प्रधानमन्त्री बनाएको रिमालले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्थिर चरित्र फेरि देखाएर देशलाई गलत दिशा दिनेतर्फ अग्रसर भएको उहाँको भनाइ छ ।
उपमहासचिव रिमालले उपनिर्वाचनको नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताउनुभयो ।