detail-img

कम्युनिष्ट पार्टीको पुनर्गठनमा स्व. अधिकारीको योगदान अविस्मरणीय 

काठमाडौं । नेपालको बाम–लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औं स्मृति दिवस बुधबार उहाँको शालिकमा माल्यार्पण गर्नुका साथै र उहाँका विचार र योगदानको स्मरण गरी मनाइयो ।   
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन स्मृति प्रतिष्ठानद्वारा सानेपास्थित प्रतिष्ठानको कार्यालयमा बुधबार विहान आयोजित २४औं स्मृति दिवस कार्यक्रममा अधिकारीको शालिकमा माल्यार्पण गर्नुभयो । 
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहोरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरू लगायतले अधिकारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी उहाँप्रति सम्मान प्रकट गर्नुभयो ।


कार्यक्रममा सम्बोधन गर्दै पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले नेपालको बाम–लोकतान्त्रिक आन्दोलनमा स्व.अधिकारीको भूमिका स्तुत्य रहेको वताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले विभाजित कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्न स्व. अधिकारीले गर्नुभएको पहल र प्रयत्न विर्सन नसकिने वताउनुभयो । 
स्व.अधिकारीले नेकपा (माले) र मार्क्सवादीबीच पार्टी एकीकरणको पहल ऐतिहासिक ढङ्गले गर्नुभएको स्मरण गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– नेकपाको पहिलो महाधिवेशनका महासचिव अधिकारी एमालेसँग अत्यन्त सम्मानित ढङ्गले गाँसिनुभएको क्षण अविस्मरणीय रहेको छ । 
राष्ट्रियता, सार्वभौमसत्ता र प्राकृतिक स्रोतका सम्बन्धमा स्व. अधिकारीको धारणाबारे चर्चा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– राष्ट्रिय हितको रक्षामा उहाँको विशेष चासो र चिन्ता थियो । नागरिकताका सवालमा उदार भएर अगाडि बढ्न सकिँदैन भन्नुहुन्थ्यो । प्राकृतिक स्रोत साधनमा बाह्य शक्तिबाट दोहन हुनसक्छ, त्यसमा खबरदारी गर्नुपर्छ भन्नुहुन्थ्यो । 
‘सादगीपूर्ण जीवन विताउने कुरामा स्व.अधिकारीले कहिल्यै कमी हुन दिनुभएन,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले कम्युनिष्ठ पार्टीका नेताकार्यकर्तामा आचरणगत प्रश्नहरू उठिरहेको समयमा अहिले उहाँको जीवनबाट सिक्नुपर्ने धारणा राख्नुभयो । 
अहिले पार्टी राष्ट्रिय शक्ति निर्माणमा लागिरहेको र यस कार्यमा अगाडि बढ्दा स्व. अधिकारीको विचारबाट अभिप्रेरित भई अगाडि बढ्नुपर्ने र राष्ट्रको स्वार्थलाई सर्वोपरि राख्नुपर्ने विचार पोखरेलले व्यक्त गर्नुभयो । 
मुलुकको राजनीति अहिले दुई ध्रूवमा अगाडि बढिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो– एकातिर, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देश बनाउने जागरणको नेतृत्व नेकपा (एमाले) ले गरिरहेको छ, अर्कोतर्फ दिशाहीन र उद्देश्यविहीन गठबन्धनले देशलाई धराशायी बनाउने दिशातर्फ लगिरहेको छ, राष्ट्रिय राजनीतिलाई ठीक ढङ्गले बुझेर देश बनाउने पक्षमा उभिँदा पार्टीका तत्कालीन अध्यक्ष स्व. अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुने छ ।
प्रतिष्ठानका अध्यक्ष पोखरेलले देशभर स्व. अधिकारीको नाममा रहेका प्रतिष्ठानहरूलाई व्यवस्थित सञ्चालनको पहल प्रतिष्ठानबाट भइरहेको वताउनुभयो ।  
विश्व कम्युनिष्ट आन्दोलन धराशायी भइरहेको समयमा नेकपा (एमाले) का तत्कालीन अध्यक्ष अधिकारी २०५१ सालमा नेपालमा पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्री बन्नुभएको र ज्येष्ठ नागरिकलाई राज्यबाट भत्ता उपलब्ध गराई सामाजिक सुरक्षाका क्षेत्रमा ऐतिहासिक कामको थालनी गर्नुभएको थियो भने  आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम मार्फत स्थानीय तहमा बजेट विनियोजन गरी देशको विकासमा जग बसाउने काम गर्नुभएको थियो । 
नेकपा (एमाले) का तत्कालीन अध्यक्ष अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियोे ।