detail-img

देश बनाउने अभिभारा एमालेको काँधमाः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहेकाले पार्टीलाई सुदृढ बनाउने काममा लाग्नुपर्ने वताउनुभएको छ । 
झापाको बुद्धशान्ति गाउँपालिकामा आज आयोजित  कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई चलायमान बनाई थप सुदृढ बनाउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले) लाई समाप्त गर्न गरिएको मोर्चाबन्दीलाई परास्त गरी देशले भोगिरहेका समस्या समाधान गर्न पार्टी बलियो शक्तिको रूपमा स्थापित हुनुपर्ने  बताउनुभयो ।
पार्टी बलियो बनाउन हरेक घरमा सदस्य र हरेक टोलमा पार्टी कमिटी अभियान सञ्चालन गर्नुपर्ने र यस काममा सफलता प्राप्त गर्दा २०८४ सालमा हुने निर्वाचनमा एमालेले सबै तहमा बहुमत ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


अध्यक्ष ओलीले नेकपा (एमाले) र देशमाथि अहिले चौतर्फी घेराबन्दी रहेको  हुँदा  घेराबन्दी तोड्न सिङ्गो पार्टीपङ्ती खट्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले) अहिले पनि नेपालमा सर्वाधिक लोकप्रिय पार्टी रहेको र एमालेविरूद्ध जतिसुकै र जोसुकैले मोर्चा बनाएर लड्न आए पनि अरु भन्दा अग्लो भएको बताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीमा आन्तरिक समस्या छन् भने तिनलाई पार्टीभित्रै समाधान गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले पनि बोल्नुभएको थियो । 
अध्यक्ष ओली झापा, इलाम, तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुन आजै विहान गृहजिल्ला झापा जानुभएको हो । 
झापामा कार्यकर्ता भेटघाट सकेर अध्यक्ष ओली भोलि इलाममा हुने कार्यक्रमका लागि इलाम पुग्नुभएको छ ।