detail-img

अध्यक्षमाथि दुर्व्यवहार प्रयासको निन्दा र भर्त्सना

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उच्छृङ्खल समूहबाट भएको दुर्व्यवहार  प्रयासको पार्टीले निन्दा र भर्त्सना गरेको छ । 
झापा, इलाम र तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा आज गृहजिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीमाथि झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा पुग्ने क्रममा दुर्व्यवहारको प्रयास भएको थियो । 
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ–समाजमा शान्ति र मेलमिलाप भङ्ग गर्ने नियोजित षड्यन्त्र स्वरुप सत्तापक्षकै कार्यकर्ता समेतको नेतृत्वमा भएको यस घटनाको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ । 
यस्ता अवाञ्छित कार्यमा संलग्नहरू माथि कडा कानुनी कारवाही गर्न पार्टीले जोडदार माग गरेको छ ।