detail-img

वर्तमान गठबन्धन देश सिध्याउने यात्रामाः अध्यक्ष ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति ‘देश बनाउने र सिध्याउने’ दुई ध्रुवमा विभाजित रहेको र देश बनाउने जिम्मा एमालेको काँधमा भएको वताउनुभएको छ । 
नेकपा (एमाले) इलामको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले देश सिध्याउने यात्रामा गठबन्धन सरकार रहेको वताउनुभयो । 
उहाँले समृद्ध नेपाल सुखी नेपाली बनाउने गन्तव्यका साथ एमाले अगाडि बढिरहेको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले देश दुनियाँ र राज्यको दुरूपयोग गरी एमालेलाई सिध्याउन घेराबन्दी गरे पनि मुलुकको पहिलो लोकप्रिय पार्टी बनेको चर्चा गर्दै प्रतिकूल परिस्थितिमा पनि गत निर्वाचनमा इलामबाट दुबै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाएकोमा धन्यवाद दिनुभयो ।


समाज रूपान्तरण गरेर सही बाटोमा लैजाने विशेष विचार र आचरण कम्युनिष्टमा हुनुपर्ने वताउँदै अध्यक्ष ओलीले आज कम्युनिष्ट भएपछि जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो– आचार, विचार जे पनि हुने, जे पनि गर्ने, आफ्नो पार्टीलाई भोट हाले पनि हुने, नहाले पनि हुने व्यक्ति कम्युनिष्ट हुन सक्दैन ।
हिंसा र आतङ्क मच्चाउने, समाज भाँड्ने भँडुवा कम्युनिष्ट हुन नसक्ने वताउँदै अध्यक्ष ओलीले एमाले सधै सत्य र शान्तिको पक्षमा रहेको स्पष्ट गर्नुभयो । 
उहाँले विगतमा माओवादी र सरकारले देशभर आतङ्क मच्चाउँदा पनि एमाले शान्तिको पक्षमा लडेको स्मरण गर्नुभयो ।   कार्यक्रममा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि बोल्नुभएको थियो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।