detail-img

आदिवासी जनजाति महासंघद्वारा पार्टी अध्यक्षमाथि आक्रमण प्रयासको भर्त्सना 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको साङ्घातिक आक्रमण प्रयासको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले घोर निन्दा र भर्त्सना गरेको छ । 
महासंघका अध्यक्ष पासाङ शेर्पाले आज प्रेस विज्ञप्ति जारी गरी झापाको बुधबारे बजारमा अध्यक्ष ओलीलाई लक्ष्यित गरी गरिएको साङ्घातिक हमलाको दुष्प्रयासको निन्दा र भर्त्सना गर्नुभएको छ । 
पहिचानको आन्दोलनका नाममा विगत केही दिनयता कोशी प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू र नेकपा (एमाले) का नेताहरूमाथि मात्र लक्षित गरी व्यक्तिगत गालीगलौज, सामाजिक दुर्व्यवहार भौतिक हमला गर्ने जस्ता निकृष्ट कुकृत्य निरन्तर प्रकट भएको उल्लेख गर्दै महासंघले पार्टी अध्यक्ष ओली र एमाले नेताहरूमाथि आक्रमणका घटनाबाट आन्दोलनकारीको अभीष्टका रुपमा रहेको पहिचान स्थापित नहुने र यो नेकपा (एमाले) माथिको सुनियोजित प्रहार भएको प्रमाणित भएको जनाएको छ । 
कुनै राजनीतिक दलको झण्डा र व्यानरको पृष्ठभूमिमा परिचालित आन्दोलनकारीहरूका यस्ता हर्कत नेकपा –एमाले) को बढ्दो लोकप्रियताबाट विचलित मानसिकताको उपज भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– सामाजिक सद्भाव र एकतालाई  कमजोर बनाउने, साम्प्रदायिक विद्वेष फैलाउने र क्रमशः अपराधिकरणतर्फ उन्मुख यस्तो बदनाम आन्दोलनले अन्ततः सिङ्गो आदिवासी जनजाति आन्दोलन र पहिचानको मुद्दालाई नै ध्वस्त पार्दछ । 
महासंघले यस्ता असामाजिक, अराजनीतिक र अराजक गतिविधिमा संलग्न नहुन र सामाजिक न्याय एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको पक्षमा दृढतापूर्वक उभिन आदिवासी जनजाति समुदाय र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गरेको छ ।