detail-img

संसदीय दल बैठकः अध्यक्षद्वारा सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउने धन्धाको कडाईका साथ छानविन गरी कारबाही गर्नुपर्ने वताउनुभएको छ । 
अध्यक्ष ओलीले संसदको बजेट अधिवेशन सुरु भएको दिन आइतबार नेकपा (एमाले) संसदीय दलको बैठकमा  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का विरुद्धमा क्याम्पेन चलाउन खोजिएको प्रति कडा आपत्ति जनाउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– कोही व्यक्ति दोषी हुनसक्छ, त्यो पनि म केही जान्दिनँ तर जसरी एमालेलाई धसेट्न खोजिँदै छ, त्यो दुष्प्रयास नगरियोस् ।


आफूसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन र कारबाही नगर्न दबाब आएको भनाइ सार्वजनिक भएकोप्रति अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– प्रधानमन्त्रीलाई कसले दबाब दियो र म भुक्दिन, पछि हट्दिन भन्दै हुनुहुन्छ ? कडाईका साथ छानविन गर्नुस्, कारबाही गर्नुस् । 
नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा विदेश पठाउने धन्धाका सम्बन्धमा गतबर्ष भदौमै नेकपा (एमाले) का सांसदले राष्ट्रिय सभा बैठकमा सरकारको ध्यानाकर्षण गराएको तर सरकारले नसुनेको वताउँदै अध्यक्ष ओलीले यो अहिले उठाइएको विषय होइन भन्नुभयो ।
अध्यक्ष ओलीले सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न, कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न, जनजीविकाका समस्या उठाउन र संसदीय र दलीय अनुशासनलाई ध्यान दिई आफ्नो कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको नेकपा (एमाले) संसदीय दलका सचेतक महेश वर्तौलाले वताउनुभयो ।