detail-img

‘शरणार्थी विवरण सङ्कलन र प्रमाणीकरणको निर्णय तत्कालीन गृहमन्त्री खाँणबाट’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाई विदेश पठाउने धन्धा राष्ट्रघाती भएको हुँदा यसमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने वताउनुभएको छ । 
महासचिव पोखरेलले यस गम्भीर विषयको छानविन तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने वताउँदै आशङ्काका आधारमा कोही  पनि व्यक्तिको बदनाम गर्न पाइँदैन भन्नुभयो । 
भूटानी शरणार्थीको छुटेको विवरण सङ्कलन गर्ने काम एमाले सरकारका समयमा नभएको स्पष्ट गर्दैै महासचिव पोखरेलले शरणार्थीको विवरण सङ्कलन  गरी प्रमाणीकरण गर्ने निर्णय नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडकोे मन्त्रीस्तरीय निर्णयबाट भएको वताउनुभयो ।

 
राष्ट्रिय युवा संघ, नेपालको प्रथम बैठकलाई सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले यो विषय नेकपा (एमाले) सरकारका समयमा अगाडि बढाइएको भनी भ्रमपूर्ण प्रचार गरिएकोमा आपत्ति प्रकट गर्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– यो धन्धा नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा सुरु भएको हो । सूचि तयार गर्ने काम तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको मन्त्रीस्तरीय निर्णयबाट भएको हो । भूटानी शरणार्थी पहिचान गर्ने नाममा मान्छे खोज्ने धन्धा गरियो । 
उहाँले नेकपा (एमाले) को नेतृत्वको सरकारका समयमा बाँकी रहेका भूटानी शरणार्थीको व्यवस्थापनका लागि सुझाव दिन कार्यदल बनाउने काम भएको स्पष्ट गर्नुभयो । महासचिवले भन्नुभयो– त्यो भूटानी शरणार्थी प्रमाणीकरणको विषय थिएन । 
महासचिव पोखरेलले राष्ट्रिय युवा संघलाई अनुशासित, सिर्जनशील र गतिशील आन्दोलनका रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– पार्टीको नीति र सिद्धान्तका आधारमा युवा संघको गति पार्टीसँग जोडियो भने नेकपा (एमाले) लाई कसैले हल्लाउन नसक्ने राष्ट्रिय शक्ति बनाउन सकिन्छ । 
महासचिव पोखरेले युवा संघले आफ्ना कामका आधारमा देशको आधाभन्दा बढी सङ्ख्या युवालाई संगठनमा जोड्नुपर्ने वताउनुभयो । 
अहिले युवाहरू ज्यादै जोडिने क्षेत्र सोसल मिडिया भएको र त्यसैको माध्यमबाट पुराना राजनीतिक दल र नेताहरू सबै उस्तै हुन् भन्ने मान्यता खडा गर्न खोजिँदै छ भन्दै महासचिव पोखरेलले त्यही सोसल मिडियामार्फत उनीहरूलाई सकारात्मक ज्ञान दिई सुधारको बाटोमा ल्याउन युवा संघले भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । 
लाहुरे सँस्कृति र विदेश जाने मनोविज्ञानका कारण नेपाली युवा आफ्नो जमीन बाँझो राखेर कृषि कर्मकै लागि विदेश जाने गरेको वताउँदै महासचिव पोखरेलले काम गर्ने युवा जनशक्ति विदेश जाने अनि देश बनेन भन्नु उचित होइन भन्नुभयो । 
‘देश बनाउने हो भने देशभित्र बस्नुपर्छ भन्ने मनोविज्ञानको विकास हुनुपर्छ, विदेश जाने सोचमा परिवर्तन ल्याउनुपर्छ,’ महासचिवले भन्नुभयो । 
नेकपा (एमाले) को सरकारका पालामा विदेश गएका युवा स्वदेश फर्कने र फर्केपछि फेरि नजाने क्रम बढ्दो रहेको स्मरण गर्दै तर रेमिट्यान्स भने त्यस क्रममा नघटेको भनाइ महासचिवले राख्नुभयो । उहाँले नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि बनेको गठबन्धन सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गरिरहेको वताउनुभयो ।