detail-img

नक्कली भुटानी शरणार्थी प्रकरणः अध्यक्षद्वारा प्रधानमन्त्रीलाई दोषीविरुद्ध उभिन चुनौती

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोषीविरुद्ध उभिन चुनौती दिनुभएको छ । 
नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय युवा संघ, नेपालको प्रथम पूर्ण बैठकको उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग भएको भेटमा आफूले कोही पनि भ्रष्टाचारी उम्कनु हुँदैन र निर्दोषलाई फसाउने प्रयास पनि नहोस् भनेको वताउनुभयो । 
प्रधानमन्त्रीले पटक पटक टेलिफोन गरी भेट्न बोलाएपछि आफू प्रधानमन्त्रीलाई भेट्न गएको स्पष्ट गर्दै अध्यक्ष ओलीले भेटपछि प्रधानमन्त्री प्रचण्डले घटनाका दोषीलाई कारबाही नगर्न आफूले दबाब दिएजस्तो गरी बोल्नुभएकोमा आपत्ति प्रकट गर्नुभयो । 
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचारीलाई कारबाही गर्ने क्रममा ट्रेलर मात्रै भएको कार्यकर्ता भेलामा भन्नुभएको समाचार आइरहेका सन्दर्भमा अध्यक्ष ओलीले आफूले प्रधानमन्त्रीको सिनेमा हलमा फिल्म हेर्न चाहेको वताउनुभयो । 
अध्यक्ष ओलीले म प्रधानमन्त्रीलाई सोध्नेछु– फिल्म कहिले सुरु हुन्छ, मलाई बोलाएर कहिले फिल्म देखाउने ?
उहाँले भन्नुुभयो– दोषीलाई दृढतापूर्वक कारवाही गर्नुपर्छ, प्रधानमन्त्रीले दुबोको माला लगाएर हिरोइजमको व्यापार गर्ने होइन ।


नेकपा (एमाले) ले भ्रष्टाचारको ढाकछोप गर्दैन र कोही भ्रष्टाचारीलाई जोगाउनु पनि छैन भन्दै अध्यक्ष ओलीले तर, अनावश्यक रूपमा प्रतिपक्षलाई लक्षित गरिन्छ भने मुकाविला गरिन्छ भन्नुभयो ।
घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनी कठघरामा  ल्याउने काममा  अबरोध नपुर्याउन, प्रहरीलाई दबाब नदिन प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– गिरफ्तार गरिएका मानिसलाई किन छोडियो ? उहाँले घटनामा क–कसलाई फसाउने, क–कसलाई उम्काउने भन्ने निर्देशनका आधारमा त काम भइरहेको छैन भनि आशङ्का व्यक्त गर्नुभयो । घटनामा जोडेर केही मानिसलाई बदनाम गर्ने कुचेष्टा भइरहेको वताउँदै अध्यक्ष ओलीले सरकारलाई त्यस्तो षडयन्त्रमा नलाग्न सुझाव दिनुभयो । 
अध्यक्ष ओलीले युवा संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सिर्जनशील र आत्मनिर्भर बनेर समाजमा उदाहरण बन्न र युवा पुस्तालाई आफ्नो कामका आधारमा संगठनमा आबद्ध गर्ने काममा लाग्न निर्देशन दिनुभयो । 
राष्ट्रियता, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान र नेपाली भावनालाई कमजोर पार्ने कोसिस भइरहेको हुँदा सचेत युवालाई सही बाटोमा सक्रिय बनाउने जिम्मेवारी युवा संघको काँधमा रहेको वताउँदै अध्यक्ष ओलीले ‘हामी नेपाली’ लाई मूल मन्त्र बनाई अभियान चलाउन आग्रह गर्नुभयो । 
अहिले पनि पहिचानका नाममा जातीय राजनीति गरेर समाजलाई विभाजन गर्न कोसिस भइरहेको हुँदा युवा पुस्ताले यस्ता कुरा निस्तेज पार्नुपर्ने भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटव्यूरो सदस्य तथा राष्ट्रिय युवा संघ, नेपालका पूर्व अध्यक्ष महेश बस्नेतको अतिथिका रूपमा उपस्थिति रहेको थियो । 
बैठकले आगामी कार्ययोजना बनाउने छ । बैठकको अध्यक्षता गर्नुभएका संघका अध्यक्ष क्षितिज थेवेले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई चारमहिनाको जिम्मेवारी दिएर पालिकामा पठाउने र त्यस कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी बाँडफाट गरिने वताउनुभयो । उहाँले चारमहिनाको अवधिमा चारलाख नयाँ युवालाई सदस्यता वितरण गरिने, वैचारिक र राजनीतिक प्रशिक्षण दिइने, वडा र टोलसम्म कमिटी गठन गरी संगठन निर्माणको काम गरिने वताउनुभयो । 
माओवादीका प्रदेश सदस्यलाई पार्टीमा स्वागत 
यसैबीच, नेकपा माओवादी केन्द्रका दुईजना प्रदेश कमिटी सदस्य नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सदस्य केशव चुनारा र शान्ति चुनारा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो । 
उहाँहरूलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले अवीर र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । उहाँहरू डोटी जिल्ला निवासी हुनुहुन्छ ।