detail-img

सचिवालय बैठकद्वारा केन्द्रीय कमिटीका एजेण्डा तय 

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले केन्द्रीय कमिटीको पाँचौँ बैठकका एजेण्डा तय गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालयको २२औं बैठकले केन्द्रीय कमिटीमा छलफल हुने विषयहरूका बारेमा छलफल गरी विभिन्न दश एजेण्डा तय गरेको उपमहासचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले वताउनुभयो ।

 
बैठकमा अध्यक्ष ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा सम्बोधन गर्नुभएको थियो । महासचिव शंकर पोखरेलले छलफलका विषय प्रस्तुत गर्नुभएको थियो । 
यही बैशाख २८ देखि ३० गतेसम्म काठमाडौंमा बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ भने केन्द्रीय कमिटीको गत २०७९ भदौ १० र ११ गते बसेको चौथो बैठकयता सचिवालय बैठकबाट गरिएका निर्णयहरूको जानकारी र अनुमोदन गरिनेछ । त्यस्तै, बैठकमा केन्द्रीय आयोगका अध्यक्षहरूले आयोगका प्रतिवेदन प्रस्तुत गर्नुहुने छ भने पार्टीले गत फागुन र चैत दुई महिना सञ्चालन गरेको मिसन ग्रासरुटको समीक्षा गरिने भएको छ । 
मिसन ग्रासरुट प्रतिवेदनका आधारमा प्रदेश कमिटीको वार्षिक कार्ययोजना बनाउने बैठकको अर्को एजेण्डा रहेको छ । 
यसैबीच स्थायी कमिटीको बैठक बसी पार्टीको बार्षिक कार्ययोजना बनाइने भएको छ ।
केन्द्रीय कमिटीको यस बैठकबाट कार्यविभाजन र  पार्टी प्रवेशीको व्यवस्थापन पनि गरिने भएको छ ।  समसामयिक प्रस्ताव पारित गर्नुका साथै अध्यक्षको सम्बोधनसहित  केन्द्रीय कमिटीको पाँचौँ बैठक सम्पन्न गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।